७ महिनामा ४० अर्बको वैदेशिक लगानी प्रतिबद्धता: कृषि र पर्यटनमा झुम्मिए विदेशी लगानीकर्ता
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा वैदेशिक लगानीको उत्साहजनक प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागको पछिल्लो प्रतिवेदन अनुसार साउनदेखि माघ मसान्तसम्मको अवधिमा कुल ४० अर्ब २८ करोड ३३ लाख ८० हजार रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको हो ।
यस अवधिमा अटोमेटिक रुट र परम्परागत स्वीकृति प्रक्रिया गरी कुल ५२४ वटा आयोजनाहरू दर्ता भएको विभागले जनाएको छ । उक्त उद्योगबाट नेपालमा २० हजार ८९६ जनाका लागि नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन् ।
क्षेत्रगत आधारमा हेर्दा वैदेशिक लगानीकर्ताहरूको सबैभन्दा बढी आकर्षण कृषि तथा वन पैदावारमा आधारित उद्योगहरूमा देखिएको छ । कुल लगानी प्रतिबद्धताको ५५ प्रतिशत अर्थात् २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ यसै क्षेत्रमा मात्र आएको छ ।
संख्यात्मक हिसाबले धेरै आयोजनाहरू नभए पनि लगानीको परिमाणका आधारमा कृषि क्षेत्र पहिलो स्थानमा रहेको छ ।
यस्तै, पर्यटन क्षेत्र दोस्रो आकर्षक गन्तव्य बनेको छ । पर्यटनसँग सम्बन्धित १५० वटा आयोजनामार्फत १० अर्ब ८६ करोड २० लाख रुपैयाँ (२७ प्रतिशत) लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।
सेवा क्षेत्रमा ९ प्रतिशत (३ अर्ब ५४ करोड ८० लाख), उत्पादनमूलक क्षेत्रमा ६ प्रतिशत (२ अर्ब ४० करोड ६६ लाख) र सूचना तथा सञ्चार प्रविधि (आइटी) क्षेत्रमा ३ प्रतिशत (१ अर्ब २५ करोड ९४ लाख) लगानीको प्रस्ताव गरिएको छ । ऊर्जा क्षेत्रमा भने १८ करोड ४२ लाख रुपैयाँ बराबरको न्यून लगानी प्रतिबद्धता देखिएको छ ।
लगानीका लागि दर्ता भएका ५२४ आयोजनाहरूमध्ये अधिकांश साना प्रकृतिका रहेका छन् । तथ्याङ्क अनुसार ५०७ वटा साना उद्योग, ८ वटा मझौला उद्योग र ८ वटा ठूला उद्योगहरू दर्ता भएका छन् । संख्यात्मक हिसाबले सूचना प्रविधि (आइटी) क्षेत्रमा सबैभन्दा धेरै २८८ वटा आयोजना प्रस्ताव गरिएका छन्, तर यिनीहरू साना लगानीका आयोजना हुन् ।
विशेष गरी माघ महिना (जनवरी १५ देखि फेब्रुअरी १२, २०२६) मा मात्रै १ अर्ब ४ करोड ७२ लाख रुपैयाँ बराबरको थप वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो एक महिनाको अवधिमा ४९ वटा नयाँ आयोजनाहरू दर्ता भएका छन् । लगानीका साथै प्रविधि हस्तान्तरण तर्फ पनि माघ महिनामा २ वटा सम्झौता स्वीकृत भएका छन् ।
वैदेशिक लगानीलाई प्रोत्साहन गर्न सरकारले विभिन्न प्रक्रियागत सहजीकरण गर्दै आएको छ । माघ महिनामा मात्र विभागले १५४ जना विदेशी लगानीकर्ता, २३ जना प्रतिनिधि र ६२ जना आश्रित परिवारका सदस्यहरूका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ । यसैगरी, माघ महिनामा लाभांश फिर्ता तर्फ ५ अर्ब ९३ करोड रुपैयाँ र रोयल्टी बापत २८ करोड ८८ लाख रुपैयाँ फिर्ता लैजान अनुमति दिइएको छ ।
समग्रमा, चालू आर्थिक वर्षको सात महिनाको यो तथ्याङ्कले नेपालको कृषि र पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको बलियो विश्वास रहेको देखाउँछ । सरकारले अटोमेटिक रुटलाई प्रभावकारी बनाउँदा साना र मझौला आयोजनाहरूको संख्यामा वृद्धि भएको प्रतिवेदनले संकेत गरेको छ ।













