आईपीओ निष्काशनको प्रस्तावसहित सिम्रिक एयरले फागुन २८ गते बोलायाे साधारण सभा
काठमाडौं । सिम्रिक एयर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार आगामी चैत १२ गते बिहीबारका दिन वार्षिक साधारण सभा बस्ने तय भएको हो।
उक्त सभा काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजे सुरु हुनेछ।
सभाले आर्थिक वर्ष ०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही आवको लेखापरीक्षित वार्षिक आर्थिक विवरण (नाफा-नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण) अनुमोदन गर्ने तथा लेखापरीक्षकको प्रतिवेदनमाथि निर्णय गर्ने कार्यसूची तय गरेको छ।
यसैगरी, आर्थिक वर्ष ०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
सभाको विशेष प्रस्ताव अन्तर्गत कम्पनीलाई नेपाल धितोपत्र बोर्डमा दर्ता गर्ने तथा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, आवश्यक परे कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश गरिएको कम्पनीले जनाएको छ।













