७ महिनामा अलैँची मात्र ८ अर्ब ६१ करोडको निर्यात, टप १० मा उन, धागोदेखि फलफूलको रससम्म - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

७ महिनामा अलैँची मात्र ८ अर्ब ६१ करोडको निर्यात, टप १० मा उन, धागोदेखि फलफूलको रससम्म



काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा उच्च रहँदा व्यापार घाटाको खाडल झन् झन् गहिरिँदै गएको छ । मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको सन्तुलन मिलाउन चुनौतीपूर्ण बनिरहेका बेला निर्यातजन्य वस्तुहरूको प्रदर्शनले भने केही आशा जगाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो सात महिनाको तथ्याङ्क अनुसार नेपालको निर्यात व्यापारमा केही परम्परागत र केही प्रशोधित वस्तुहरूको वर्चस्व देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले कुल १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु तथा सामग्री विदेश निर्यात गरेको छ । यस अवधिमा भएको कुल निर्यातमध्ये केही सीमित वस्तुहरूले मात्रै ठूलो हिस्सा ओगटेका छन् । विशेष गरी कृषिजन्य र औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुने वस्तुहरू नेपालको निर्यातका मुख्य आधार बनेका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार निर्यात हुने वस्तुको सूचीमा अलैँची दोस्रो नम्बरमा रहेको छ । नेपालले यस सात महिनाको अवधिमा मात्रै ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको ’अलैँची (नकुटिएको वा नपिँधिएको)’ निर्यात गरेको छ ।

तथ्याङ्क अनुसार ४१ लाख ५३ हजार १५० केजी अलैँची विदेश पठाइएको छ । यस निर्यातबाट सरकारले उल्लेख्य रूपमा वैदेशिक मुद्रा आर्जन गर्नुका साथै राजस्वमा समेत योगदान पुगेको छ ।

बढी निर्यात हुने वस्तुको पहिलो नम्बरमा भने ’भटमासको तेल (कच्चा बाहेक) र यसका अंशहरू’ रहेको छ । सात महिनाको अवधिमा उक्त वस्तु ६६ अर्ब ७८ करोड ८७ लाख १४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

परिमाणका आधारमा हेर्दा यो अवधिमा ३२ करोड ४१ लाख १९ हजार २२ केजी भटमासको तेल निर्यात भएको देखिन्छ । तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर नेपालमा प्रशोधन गरी पुन: निर्यात गर्दा यसले ठूलो व्यापारिक हिस्सा ओगटेको हो ।

टप १० मा धागोदेखि फलफूलको रससम्म

नेपालको निर्यात व्यापारको ’टप १०’ सूचीभित्र उन, धागोदेखि फलफूलका रसहरूसम्म अटाएका छन् । ती वस्तुहरू अर्बौँ रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विशेष गरी औद्योगिक उत्पादनतर्फ ’८५ प्रतिशत वा सोभन्दा बढी पोलिएस्टर स्टेपल फाइबर मिसाइएको एकल धागो’ को निर्यात बलियो देखिएको छ । सात महिनामा २ अर्ब ७७ करोड ९३ लाख ४६ हजार रुपैयाँ बराबरको १३ करोड १३ लाख ३ हजार ३१३ केजी यस्तो धागो निर्यात भएको छ ।

त्यस्तै, ’८५ प्रतिशतभन्दा कम पोलिएस्टर स्टेपल फाइबर र कृत्रिम रेसा मिसाइएको धागो’ पनि २ अर्ब ६५ करोड ४८ लाख ९५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

टप १० भित्र अन्तिम सूचीमा फलफूलको रस परेको छ । चालु आवको सात महिनामा २ अर्ब ४६ करोड ७८ लाख १० हजार रुपैयाँ बराबरको २ करोड ७७ लाख २७ हजार १०५ लिटर फलफूलको रस (मदिरा नमिसिएको विभिन्न फलफूलका रसहरूको मिश्रण) निर्यात भएको छ ।

तथ्याङ्क अनुसार तेस्रो स्थानमा ’सूर्यमुखी र सिसमको तेल (कच्चा बाहेक) र यसका अंशहरू’ रहेको छ । यसको निर्यात ५ अर्ब ७८ करोड ४७ लाख ७२ हजार रुपैयाँ बराबरको भएको छ । चौथो स्थानमा रहेको ’उन वा पशमिनाका गलैँचा तथा अन्य भुइँमा ओछ्याउने कपडाहरू (गाँठो पारिएका)’ ५ अर्ब ७१ करोड ८८ लाख ६९ हजार रुपैयाँको निर्यात भएको छ ।

पाँचौँ स्थानमा रहेको ’नब्लिच गरिएका जुट वा अन्य वनस्पतिजन्य रेसाबाट बनेका कपडाहरू’ ४ अर्ब १ करोड २० लाख ५६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ भने छैटौँ स्थानमा ’प्रशोधित पाम ओलिन’ ३ अर्ब ३४ करोड ४९ लाख ७० हजार रुपैयाँको निर्यात भएको छ । सातौँ स्थानमा रहेको ’अन्य फेल्ट, लेप लगाइएका वा पत्र पारिएका समेत’ ३ अर्ब २५ करोड १४ लाख ७२ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।

समग्रमा, नेपालको निर्यात व्यापार केही निश्चित वस्तुहरूमा मात्र केन्द्रित रहनु र मूल्य अभिवृद्धि कम हुनुले व्यापार घाटा कम गर्न चुनौती थपेको छ । यद्यपि, अलैँची, धागो र प्रशोधित तेलको निर्यातले वैदेशिक मुद्रा संकलनमा महत्त्वपूर्ण आड दिएको देखिन्छ । सरकारले यस्ता निर्यातजन्य वस्तुहरूको उत्पादनमा सहुलियत र बजारीकरणमा ध्यान दिन सके व्यापार सन्तुलनमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्