सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि सर्वसाधारणका लागि यो आईपीओ खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३१ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १५ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५५ हजार कित्ता शेयर यसअघि नै बाँडफाँड भइसकेको छ । बाँकी रहेको शेयरमध्ये सामूहिक लगानी कोषका लागि ७७ हजार ५०० कित्ता र कर्मचारीका लागि ३१ हजार कित्ता सुरक्षित गरी १२ लाख ८६ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो ।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र ’मेरो शेयर’ मार्फत सि–आस्बा प्रणालीबाट सजिलै आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालिरहेको छ । केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ’केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।













