७ महिनामा सबैभन्दा बढी वीरगञ्जबाट आयात, शीर्षमा मुस्ताङ, रसुवादेखि मेचीसम्म - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

७ महिनामा सबैभन्दा बढी वीरगञ्जबाट आयात, शीर्षमा मुस्ताङ, रसुवादेखि मेचीसम्म



काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनाको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारमा वीरगञ्ज भन्सार कार्यालय सबैभन्दा ठूलो हिस्सा ओगट्न सफल भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो सात महिनाको प्रतिवेदन अनुसार कुल आयातमा वीरगञ्जको दबदबा कायमै देखिएको छ भने मुस्ताङ, रसुवा र मेची जस्ता भन्सार विन्दुहरूले पनि उल्लेख्य योगदान पुर्‍याएका छन् ।

वीरगञ्जको एकलौटी बर्चस्व

उपलब्ध तथ्यांक अनुसार सात महिनाको अवधिमा वीरगञ्ज भन्सारबाट मात्र ५ खर्ब १९ अर्ब ३५ लाख ७० हजार रुपैयाँ बराबरको आयात भएको छ । यो नेपालको कुल आयातको झण्डै आधा अर्थात् ४६.२० प्रतिशत हिस्सा हो । यसले नेपालको वैदेशिक व्यापारको मुख्य नाकाको रूपमा वीरगञ्जको अपरिहार्यतालाई पुन: पुष्टि गरेको छ ।

दोस्रो स्थानमा भैरहवा भन्सार कार्यालय रहेको छ । यहाँबाट सात महिनामा १ खर्ब ६५ अर्ब ८ करोड ६३ लाख ६९ हजार रुपैयाँको आयात भएको देखिन्छ । जसले कुल आयातको १४.६९ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै, विराटनगर भन्सार कार्यालय १२.०५ प्रतिशत (१ खर्ब ३५ अर्ब ३५ करोड ४४ लाख ४२ हजार रुपैयाँ) आयात सहित तेस्रो स्थानमा छ ।

हवाइ मार्ग र अन्य प्रमुख नाकाहरू

हवाइ मार्गबाट हुने आयातको अवस्था पनि बलियो देखिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सात महिनामा १ खर्ब २६ अर्ब २५ करोड ८६ लाख ९० हजार रुपैयाँको आयात भएको छ । यो कुल आयातको ११.२४ प्रतिशत हो । यसैगरी नेपालगञ्ज भन्सार कार्यालयबाट ३.९७ प्रतिशत (४४ अर्ब ५९ करोड ८६ लाख १० हजार रुपैयाँ) आयात भएको छ ।

मेची भन्सार कार्यालय ६औँ स्थानमा रहँदै २.६५ प्रतिशत (२९ अर्ब ७६ करोड ४६ लाख ४ हजार रुपैयाँ) को आयात गराउन सफल भएको छ । उत्तरी नाका तातोपानी भन्सारबाट २.३४ प्रतिशत अर्थात् २६ अर्ब २७ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको सामग्री भित्रिएको छ ।

१०औँ र ११औँ स्थानमा मुस्ताङ र रसुवा

पछिल्लो समय चर्चामा रहेको मुस्ताङ भन्सारले पनि उल्लेख्य प्रगति गरेको छ । १०औँ स्थानमा रहेको मुस्ताङ भन्सारबाट ११ अर्ब ८७ करोड ४ लाख ५२ हजार रुपैयाँ (१.०६ प्रतिशत) को आयात भएको छ । त्यस्तै, ११औँ स्थानमा रहेको रसुवा भन्सारबाट ११ अर्ब ३६ करोड ७३ लाख ९४ हजार रुपैयाँको आयात भएको छ । जसको हिस्सा १.०१ प्रतिशत रहेको छ ।

अन्य भन्सार सामान्य

सात महिनाको अवधिमा कृष्णनगर भन्सारबाट १४ अर्ब ८४ करोड ५६ लाख १५ हजार रुपैयाँ (१.३२ प्रतिशत ) आयात भएको छ । यो बढी आयात भएको ८औँ स्थानमा हरेको छ ।

कैलाली भन्सार आयात हुनेको नवौँ नम्बरमा रहेको छ । जसबाट ७ महिनामा १४ अर्ब ३५ करोड ७० लाख ५३ हजार रुपैयाँ (१.२८ प्रतिशत) आयात भएको छ ।

समग्र आयातको अवस्था

भन्सार विभागको विस्तृत विवरण अनुसार समीक्षा अवधिमा नेपालले कुल ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ ।

मुख्य ११ नाका बाहेक चोभार, सुठौली, जलेश्वर, सर्लाही, सुनसरी, कञ्चनपुर, गौर, जनकपुर जस्ता भन्सारहरूबाट पनि सानो हिस्सामा आयात भइरहेको छ । चोभार सुख्खा बन्दरगाहको हिस्सा ०.५५ प्रतिशत रहँदा सुठौलीको ०.५० प्रतिशत देखिएको छ । सबैभन्दा न्यून आयात हुनेमा त्रिवेणी भन्सार देखिएको छ । जहाँबाट ७ महिनामा मात्र २ लाख २७ हजार रुपैयाँको आयात भएको छ ।

यस तथ्यांकले नेपालको आयात व्यापार मुख्यतया वीरगञ्ज, भैरहवा र विराटनगर जस्ता दक्षिणी नाकाहरूमा बढी निर्भर रहेको देखाउँछ । उत्तरी नाकाहरू तातोपानी, मुस्ताङ र रसुवाको कुल हिस्सा करिब ४ प्रतिशत हाराहारीमा सीमित भए पनि यी नाकाहरूको व्यापारिक महत्व बढ्दै गएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्