नेप्सेमा दाेहाेराे अंककाे सुधार, काराेबार रकम भने ४ अर्बमा खुम्चियाे
काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको सुधार देखएिको छ। हिजो २.४१ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २१.६२ अंकले बढेर २६ सय ३८ दशमलव ६० बिन्दुमा पुगेर रोकिएको छ।
आज १३ वटै उपसमुहमा हरियाली छाएकाे छ । यसदिन हाेटल तथा पर्यटन २.०२, उत्पादन तथा प्रशाेधन १.७६, व्यापार १.४९, हाइड्राेपावर १.२७ र विकास बैंक उपसमुह १.११ प्रतिशत बढेकाे छ।
नेप्से सूचकमा झिनो सुधार देखिए पनि कारोबार भने लगातार घटिरहेको छ। आज ३२८ कम्पनीको ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर खरिदबिक्रि हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
हिजो ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रूपैयाँमा कारोबार भएको थियो ।
आज २०६ कम्पनीको सेयर मूल्य बढेकोमा सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.३१ प्रतिशत र हिमालयन पावर पाट्नरकाे सेयर मूल्य ९.१५ प्रतिशतले बढेको छ।













