ओमेगा क्यापिटलले पायो घरजग्गा कारोबारको लाइसेन्स, ५ करोडभन्दा माथिका ठूला डिल पनि गर्न पाउने
काठमाडौं । ओमेगा क्यापिटल एडभाइजर्स प्रालिले घरजग्गा सम्बन्धी व्यावसायिक कारोबार गर्न नेपाल सरकारबाट औपचारिक इजाजतपत्र प्राप्त गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले कम्पनीलाई घरजग्गा खरिद–बिक्री सम्बन्धी कारोबार सञ्चालनका लागि इजाजतपत्र (बीआरके १८३५६०१) प्रदान गरेको हो।
प्रचलित कानून तथा नियमावली बमोजिम प्राप्त यो इजाजतसँगै कम्पनीलाई तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रहरूमा कानुनी रूपमा घरजग्गा कारोबार गर्ने बाटो खुलेको छ। इजाजतपत्रमा उल्लेखित शर्त अनुसार कम्पनीले एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा घटी जतिसुकै रकमको पनि घरजग्गा कारोबार गर्न सक्ने विशेष सुविधा पाएको छ।
इजाजतपत्र प्राप्त गरेसँगै कम्पनीले प्रचलित कानून र नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी, जिम्मेवार र नैतिक व्यावसायिक अभ्यास अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ओमेगा क्यापिटलले आफ्ना ग्राहक तथा सरोकारवालाहरूको हितलाई उच्च प्राथमिकता दिँदै सुरक्षित र विश्वसनीय घरजग्गा कारोबार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
कम्पनी व्यवस्थापनले यस उपलब्धिलाई संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता तथा दीर्घकालीन विस्तारका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा लिएको छ। आगामी दिनमा अझ गुणस्तरीय, पारदर्शी तथा कानुनसम्मत ढंगले घरजग्गा परामर्श तथा कारोबार सेवा दिने कम्पनीको योजना रहेको छ।













