कालिन्चोक हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन सक्ने
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आफ्नो साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बिक्री खुला गरेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुमति बमोजिम कम्पनीले ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ। यसमा विशेषगरी दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ र कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का बासिन्दाहरूले मात्र आवेदन दिन पाउनेछन्।
त्यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ८२ लाख ५० हजार रुपैयाँ बराबरको ८२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाएको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
समयसीमाको हकमा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा फागुन १७ गतेसम्म र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भने आवेदन दिने म्याद छिटोमा फागुन २७ गते तोकिएको छ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा चैत १३ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।













