७ महिनामा युद्धग्रस्त युक्रेनबाट मात्र ५ अर्ब ७६ करोडको आयात, टप १० मा मलेसिया, थाइल्यान्डदेखि अमेरिकासम्म - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

७ महिनामा युद्धग्रस्त युक्रेनबाट मात्र ५ अर्ब ७६ करोडको आयात, टप १० मा मलेसिया, थाइल्यान्डदेखि अमेरिकासम्म



काठमाडौं । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा डरलाग्दो रूपमा बढिरहेको छ । चालू आर्थिक वर्ष २०८२–८३ को पछिल्लो ७ महिनाको तथ्यांक अनुसार नेपालले सबैभन्दा बढी आयात गर्ने प्रमुख १० देशहरूको सूचीमा भारत पहिलो स्थानमा रहेको छ ।
युद्धग्रस्त मुलुक युक्रेनबाट समेत अर्बौँको आयात भएको देखिएको छ । तथ्यांक अनुसार युक्रेनबाट मात्र ७ महिनाको अवधिमा ५ अर्ब ७६ करोड ९६ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

व्यापारको मुख्य हिस्सा भारत र चीनसँग
नेपालको कुल आयातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतले ओगटेको छ । भारतबाट ६२ अर्ब ९२ करोड ९२ लाख ५९ हजार रुपैयाँ बराबरको आयात हुँदा नेपालले भारततर्फ जम्मा १३ अर्ब ७५ करोड १७ लाख ४७ हजार रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ । यसले गर्दा भारतसँग मात्रै नेपालको व्यापार घाटा ४९ अर्ब १७ करोड ७५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

दोस्रो ठूलो व्यापारिक साझेदार चीनबाट २३ अर्ब ५३ करोड ८२ लाख ३८ हजार रुपैयाँको सामान आयात भएको छ । चीनतर्फको निर्यात भने अत्यन्तै न्यून अर्थात् ९ करोड १ लाख ६७ हजार रुपैयाँ मात्र रहेको छ । जसका कारण चीनसँगको व्यापार घाटा २३ अर्ब ४४ करोड ८२ लाख २१ हजार रुपैयाँ रहेको देखिन्छ ।

आयात हुने प्रमुख देशको तेस्रो सूचीमा अर्जेन्टिना रहेको छ । अर्जेन्टिनाबाट ६ अर्ब ६१ करोड १९ लाख ३२ हजार रुपैयाँको आयात भएको छ भने निर्यात जम्मा २६ लाख ९२ हजार रुपैयाँ मात्र छ । त्यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) बाट ४ अर्ब १० करोड २५ लाख ९ हजार रुपैयाँको आयात भएको छ । युएईतर्फ १२ करोड २२ लाख ६१ हजार रुपैयाँको निर्यात भएको तथ्यांकले देखाउँछ।

शक्तिशाली राष्ट्र अमेरिका नेपालमा बढी आयात हुने देशको पाँचौँ स्थानमा छ । अमेरिकाबाट १ अर्ब ७४ करोड ४० लाख ९५ हजार रुपैयाँको सामान भित्रिएको छ भने नेपालले १ अर्ब १२ करोड ७५ लाख ८५ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । अन्य देशको तुलनामा अमेरिकासँगको व्यापार घाटा केही कम अर्थात् ६१ करोड ६५ लाख रुपैयाँ मात्र रहेको छ ।

इन्डोनेसियाबाट १ अर्ब २८ करोड ३० लाख ५३ हजार र थाइल्यान्डबाट १ अर्ब ८ करोड ८८ लाख ९२ हजार रुपैयाँ बराबरको आयात भएको छ । यी दुवै देशसँगको व्यापार घाटा क्रमश: १ अर्ब २६ करोड र १ अर्ब ८ करोड रुपैयाँको हाराहारीमा छ ।

तथ्यांक अनुसार अस्ट्रेलियाबाट ७८ करोड १० लाख ८९ हजार र मलेसियाबाट ७१ करोड ६४ लाख ५८ हजार रुपैयाँको आयात भएको छ । मलेसियासँगको व्यापार घाटा ७० करोड २२ लाख ९८ हजार रुपैयाँ रहेको छ । सूचीको १०औँ स्थानमा रहेको युक्रेनबाट ५ अर्ब ७६ करोड ९६ लाख ४८ हजार रुपैयाँको आयात हुँदा निर्यात भने जम्मा २८ लाख ५३ हजार रुपैयाँ मात्र भएको छ । युक्रेनसँगको व्यापार घाटा ५ अर्ब ७६ करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

समग्रमा, नेपालको वैदेशिक व्यापार आयातमुखी हुँदा व्यापार घाटा चुलिँदै गएको छ । प्रमुख १० देशमध्ये धेरैजसोसँगको निर्यात स्थिति निकै कमजोर देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्