पाल्पा सिमेन्ट इण्डष्ट्रीजकाे आईपीओमा आवेदन दिने आज अन्तिम माैका
काठमाडाैं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजकाे आईपीओमा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले फागुन १२ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये जारी पूँजीको १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। त्यस्तै, कम्पनीले २ लाख ८१ हजार २५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुका लागि र २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ।
अब भने कम्पनीले बाँकी रहेको ४५ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।













