युद्धको चपेटामा रहेका ६ खाडी मुलुकः कुन देशसँग नेपालकाे वैदेशीक व्यापार कस्ताे ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

युद्धको चपेटामा रहेका ६ खाडी मुलुकः कुन देशसँग नेपालकाे वैदेशीक व्यापार कस्ताे ?



काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र शक्ति राष्ट्रहरूबीचको टकरावले खाडी क्षेत्रलाई अस्थिर बनाएको छ ।
इरान, इजरायल र अमेरिकाबीचको त्रिपक्षीय द्वन्द्व अब दुई देशमा मात्र सीमित नभई सम्पूर्ण खाडी क्षेत्रलाई आफ्नो चपेटामा पारेको छ । यसको प्रत्यक्ष असर ती देशहरूसँग व्यापारिक सम्बन्ध रहेका नेपाल जस्ता मुलुकहरूमा पर्न थालेको छ ।

केही समयअघि अमेरिका र इजरायलले इरानभित्रै लक्षित गरी गरेका श्रृंखलाबद्ध आक्रमण र त्यहाँका प्रभावशाली सैन्य तथा राजनीतिक नेताहरूको मृत्युले परिस्थितिलाई थप भयावह बनाएको छ । इरानले यसको बदला लिने चेतावनी दिएसँगै संयुक्त अरब इमिरेट्स (युएई), कतार, साउदी अरब, ओमान, कुवेत र बहराइन जस्ता देशहरू उच्च जोखिममा परेका छन् ।

यी देशहरूमा रहेका अमेरिकी सैन्य आधार शिविर र महत्त्वपूर्ण तेल प्रशोधन केन्द्रहरू मिसाइल तथा ड्रोन आक्रमणको निशानामा छन् । खाडी क्षेत्र विश्वकै ऊर्जा आपूर्तिको मुटु मानिने भएकाले यहाँको अस्थिरताले विश्व बजारमा तेलको मूल्य वृद्धि र आपूर्ति शृङ्खलामा अवरोध पुर्‍याएको छ ।

नेपालको व्यापारमा परेको प्रभाव
नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा खाडी मुलुकहरूसँग जोडिएको छ । हालैको व्यापारिक तथ्याङ्क अनुसार नेपाल यी देशहरूसँग ठूलो व्यापार घाटामा रहेको देखिन्छ । युद्धको जोखिमले गर्दा आयात महँगो हुने र निर्यात मार्गहरू अवरुद्ध हुने खतरा बढेको छ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक युएईसँगको व्यापारिक अवस्था चिन्ताजनक छ । नेपालले युएईबाट मात्र ४१ अर्ब २ लाख ५१ हजार रुपैयाँ बराबरको आयात गर्दा मात्र १ अर्ब २२ करोड २६ लाख रुपैयाँको निर्यात गर्न सकेको छ । यसले युएईसँग नेपालको ३९ अर्ब ७७ करोड ९८ लाख भन्दा बढीको विशाल व्यापार घाटा देखाउँछ ।

साउदी अरबसँग नेपालको आयात मूल्य ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँको छ भने निर्यात जम्मा २० करोड ४७ लाख रुपैयाँ मात्र छ । त्यस्तै, कतारबाट ३ अर्ब ३४ करोड ९८ लाख रुपैयाँको वस्तु आयात हुँदा नेपालले मात्र ७ करोड ९७ लाख को वस्तु पठाउन सकेको छ । यी दुवै देशसँग नेपालको व्यापार घाटा अर्बौंमा रहेको छ ।

ओमानसँग नेपालको व्यापार घाटा २८ करोड ८९ लाख रुपैयाँ छ भने बहराइनसँग २५ करोड ५१ लाख रुपैयाँ रहेको छ । कुवेतसँगको व्यापार तुलनात्मक रूपमा सानो देखिए पनि त्यहाँ पनि २ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा छ । कुवेतबाट ७ करोड ६८ लाख को आयात हुँदा नेपालले ४ करोड ८६ लाख को निर्यात गरेको छ ।

सुरक्षा चुनौती र आर्थिक जोखिम

खाडी मुलुकहरूमा रहेका ऊर्जा पूर्वाधारमा हुने सम्भावित आक्रमणले नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकासिने निश्चित छ । यसका साथै, ती क्षेत्रमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको सुरक्षा अर्को प्रमुख चिन्ताको विषय बनेको छ । यदि युद्ध अझै चर्कियो भने नेपालको रेमिट्यान्स (विप्रेषण) आयमा ठूलो धक्का लाग्नेछ, जसले नेपालको शोधनान्तर स्थितिलाई असन्तुलित बनाउन सक्छ ।

अमेरिकी सैन्य अखडा र तेल प्रशोधन केन्द्रहरूमा हुने ड्रोन हमलाले यातायात र ढुवानी लागत बढाएको छ । यसले गर्दा नेपाल आउने सामानको मूल्य बढ्ने र नेपाली उत्पादनलाई खाडी बजारसम्म पुर्‍याउन झनै कठिन हुने देखिन्छ ।

मध्यपूर्वको यो तनावले नेपाललाई दोहोरो मारमा पारेको छ । एकातिर निर्यात न्यून र आयात उच्च हुँदा व्यापार घाटा चुलिँदै गएको छ भने अर्कोतिर युद्धको छायाले भविष्यको व्यापारिक सम्बन्धलाई अझ अनिश्चित बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्