एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, चैत १० सम्म भर्न पाइने
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। गत फागुन ११ गतेदेखि बिक्री खुला गरिएको यस शेयरमा अब आगामी चैत १० गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले कुल जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १७ करोड १० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये अहिले पहिलो चरणमा आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका ४ लाख ७० हजार कित्ता शेयर निष्काशन गरिएको हो।
निष्कासित शेयरमध्ये ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का उच्च प्रभावित बासिन्दालाई ५० प्रतिशत (२ लाख ३५ हजार कित्ता) छुट्याइएको छ। यस्तै, मध्यम प्रभावित क्षेत्र सोलुखुम्बुको लिखुपिके–२ र रामेछापको उमाकुण्ड–३ का बासिन्दालाई ३० प्रतिशत (१ लाख ४१ हजार कित्ता) बाँडफाँट गरिनेछ।
बाँकी २० प्रतिशत अर्थात् ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्रका रूपमा रहेका रामेछापको उमाकुण्ड–२ र गोकुलगंगा–१ का बासिन्दाहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले तोकिएका संकलन केन्द्रहरूबाट चैत १० गतेसम्म आफ्नो आवेदन पेश गर्न सक्नेछन्।













