७ महिनामा महँगाइ ३.१५ प्रतिशतले बढ्यो  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

७ महिनामा महँगाइ ३.१५ प्रतिशतले बढ्यो 



काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा महँगी ३.२५ प्रतिशतले बढेको छ । अर्थात् ७ महिना अधि सम्म १०० रुपैयाँमा पाइने सामान अहिले १०३ रुपैयाँ १५ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले सर्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो महँगी ४.१६ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको महँगी ३.६६ प्रतिशत रहेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको महँगी क्रमश: ४.९५ प्रतिशत र ३.७४ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । 

आर्थिक वर्ष २०८२/८३ को सात महिनाकोऔसत महँगी १.९२ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ भने अघिल्लो वर्षकोसोही अवधिको औसत महँगी ४.८६ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, घ्यू तथा तेलको ७.६१ प्रतिशत, र फलफूलको ७.४१ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ । 

दाल तथा गेडागुडी उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको२.६१ प्रतिशतले घटेको केन्द्रिय बैंकले जनाएको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.९८ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको३.८५ प्रतिशतले बढेको रिपोर्टमा छ । 

सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.०८ प्रतिशतले घटेको छ भने ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.५१ प्रतिशतले बढेको बैंकले जनाएको छ । 

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.५३ प्रतिशत, मधेश प्रदेशको ५.१४ प्रतिशत, बागमती प्रदेशको ३.१० प्रतिशत, गण्डकी प्रदेशको २.४२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.२९ प्रतिशत, कर्णाली प्रदेशको १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६४ प्रतिशत रहेको तथ्यांकमा छ । 

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता महँगी ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत रहेको केन्द्रिय बैंकले बताएको छ । 

थोक महँगी 

२०८२ माघ महिनामा वार्षिक विन्दुगत थोक महँगी ६.२१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएकोछ । अघिल्लो वर्षको सोही महिनामा यस्तो महँगी ३.४७ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक महँगी ०.७२ प्रतिशत रहेकोछ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक महँगी क्रमश: ९.८३ प्रतिशत र ३.२१ प्रतिशत रहेको छ । 

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.०४ प्रतिशतले बढेकोछ । 

नेपाल र भारतको उपभोक्ता महँगी 

नेपाल भन्दा भारतमा महँगी कम देखिएको छ । २०८२ माघ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता महँगी ३.२५ प्रतिशत रहेको छ । सन् ०२६ जनवरी महिनामा भारतमा यस्तो महँगी २.७५ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्