चैत ९ गतेदेखि सोपान फर्मास्यूटिकल्सले आईपीओ निष्काशन गर्दै
काठमाडाैं । चैत ९ गतेदेखि सोपान फर्मास्यूटिकल्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले पहिलाे चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।













