कस्तुरी फर्मास्युटिकल्सले आइपीओ ल्याउने
चितवन । चितवनको भरतपुरमा अवस्थित कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता सेयर जारी गर्न यसै चैत मसान्तभित्र नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिने तयारी गरेको छ।
कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकका लागि रिलायवल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडलाई नियुक्त गरिसकेको छ। हाल ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको आइपीओ निष्कासनपछि कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ।
इन्फोमेरिक्स नेपालले यस कम्पनीलाई ‘बीबी माइनस’ (BB-) क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय अवस्था सुदृढ र जोखिम न्यून रहेको संकेत गर्दछ। कम्पनीको प्रतिसेयर नेटवर्थ (पुस मसान्त २०८१ सम्म) १२९.९३ रुपैयाँ रहेको छ। विगतमा आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गरिसकेको यस कम्पनीले आगामी दिनमा पनि लाभांश वितरणलाई निरन्तरता दिने लक्ष्य राखेको छ।
विगत १३ वर्षदेखि औषधि उत्पादन गरिरहेको कस्तुरी फर्मास्युटिकल्स ‘डब्लुएचओ-जीएमपी’ (WHO-GMP) र ‘आईएसओ ९००१’ (ISO 9001) प्रमाणित उद्योग हो। करिब १ बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको यस उद्योगले हाल १८२ भन्दा बढी औषधि उत्पादनको अनुमति पाएको छ भने १२५ भन्दा बढी प्रकारका औषधिहरू देशभरका बिक्री डिपोहरूमार्फत बजारमा उपलब्ध गराइरहेको छ ।
कम्पनीको नेतृत्व यस क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव भएका कार्यकारी अध्यक्ष प्रवेश खनाल र प्रबन्ध निर्देशक ईश्वर भण्डारीले गरिरहेका छन् । कम्पनीले आफ्नो ऋणको भारलाई उल्लेख्य रूपमा घटाएर हाल २४ करोड रुपैयाँमा सीमित राखेको छ। आइपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र नयाँ सेयरधनी लगत प्राप्त हुनासाथ बोर्डमा जाने निर्णय भएको कम्पनीले जनाएको छ।













