सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला, क-कसले दिन पाउँछन् आवेदन?
काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आज (चैत ९ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि विशेष कोटा अन्तर्गतको शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत (अर्थात् ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता) शेयर सर्वसाधारणमा जारी गर्ने अनुमति पाएको थियो। सोहीमध्ये १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ।
बाँकी शेयरमध्ये २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। यी सबै प्रक्रिया पूरा भएपछि बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर पछि सर्वसाधारणका लागि खुला गरिनेछ।
इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्काशन चैत १२ गतेसम्म खुला रहनेछ। यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा निष्काशन समय चैत २३ गतेसम्म थप हुन सक्ने कम्पनीले जनाएको छ।













