युद्धरत इरान, इजरायल र अमेरिकाबाट ८ महिनामा २४ अर्बको आयात हुँदा १२ अर्बको निर्यात - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

युद्धरत इरान, इजरायल र अमेरिकाबाट ८ महिनामा २४ अर्बको आयात हुँदा १२ अर्बको निर्यात



काठमाडौं । विश्व राजनीति र युद्धको चपेटामा रहेका पश्चिम एसियाली मुलुकहरू र शक्तिशाली राष्ट्र अमेरिकासँगको नेपालको व्यापारिक सम्बन्धमा रोचक तथ्यांक देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन) को तथ्यांक अनुसार इरान, इजरायल र अमेरिकासँगको कुल आयात २४ अर्ब २५ करोड ७३ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा यी तीन देशतर्फको निर्यात भने आयातको तुलनामा आधा अर्थात् १२ अर्ब ८४ करोड ९९ लाख रुपैयाँमा सीमित देखिएको छ । युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा अवरोध आए पनि नेपालले यी मुलुकहरूसँगको व्यापारलाई निरन्तरता दिएको छ । यद्यपि व्यापार घाटाको खाडल भने ११ अर्ब ४० करोड ७४ लाख ७० हजार रुपैयाँ देखिएको छ ।

भन्सार विभागको अनुसार गत आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको आयात भएकोमा चालू वर्षको सोही अवधिमा यो १२.५४ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । निर्याततर्फ पनि २०.८३ प्रतिशतको सुधार देखिएको छ । गत वर्ष १ खर्ब ५८ अर्ब १७ करोडको निर्यात भएकोमा यस वर्ष १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । समग्र वैदेशिक व्यापार १३.५५ प्रतिशतले वृद्धि भई १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ बराबरको पुगेको तथ्यांकले देखाउँछ ।

अमेरिका ठूलो आयात र निर्यातको मुख्य हिस्सा
तथ्यांक अनुसार नेपालको यी तीन देशमध्ये अमेरिकासँग सबैभन्दा ठूलो व्यापारिक हिस्सा रहेको छ । आठ महिनाको अवधिमा अमेरिकाबाट २० अर्ब ३७ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही अवधिमा नेपालले अमेरिकातर्फ १२ अर्ब ८० करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । अमेरिकासँग मात्रै नेपालको व्यापार घाटा ७ अर्ब ५७ करोड ८७ लाख १० हजार रुपैयाँ रहेको छ ।

इजरायल र इरानको व्यापारिक दृश्य

युद्धको प्रत्यक्ष चपेटामा रहेको इजरायलबाट नेपालले ८ महिनामा ३ अर्ब ८७ करोड ६ लाख ८२ हजार रुपैयाँको आयात गरेको छ । तर, इजरायलतर्फको निर्यात भने निकै न्यून अर्थात् ४ करोड ८५ लाख रुपैयाँ मात्रै रहेको छ । यसले गर्दा इजरायलसँगको व्यापार घाटा ३ अर्ब ८२ करोड २१ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, इरानसँगको व्यापारिक आकार भने तुलनात्मक रूपमा सानो देखिएको छ । इरानबाट ७५ लाख ४८ हजार रुपैयाँको आयात हुँदा ९ लाख ७० हजार रुपैयाँको मात्र निर्यात भएको छ । इरानसँग नेपालको व्यापार घाटा ६५ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको इरान र इजरायल–अमेरिका तनावका कारण विश्व बजार नै प्रभावित भएको छ । विशेषगरी इरानले ’स्ट्रेट अफ हर्मुज’ बन्द गरेपछि विश्वको २० प्रतिशत तेल आपूर्ति ठप्प भएको थियो । यो जलमार्ग बन्द हुँदा कच्चा तेलको मूल्य ५० प्रतिशतले बढेर प्रति ब्यारेल १०० डलर नाघेको छ ।

यस्तो असहज परिस्थितिका बीच ट्रम्प प्रशासनले इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा ३० दिनका लागि लचकता अपनाउँदै छुट दिने निर्णय गरेको छ । अप्रिल १९ सम्म लागू हुने यो इजाजतपत्रले विश्व बजारमा करिब १४ करोड ब्यारेल तेल थप गर्ने अपेक्षा गरिएको छ । जसले नेपाल जस्ता इन्धन आयातकर्ता मुलुकहरूलाई केही राहत मिल्ने देखिन्छ । अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटका अनुसार यो आपूर्तिबाट सबैभन्दा बढी फाइदा एसियाली मुलुकहरूलाई हुनेछ ।

युद्धका कारण सिर्जित ऊर्जा सङ्कट र आपूर्ति अवरोधका बाबजुद नेपालको आयात र निर्यात दुवैमा वृद्धि हुनुलाई सकारात्मक मानिए पनि व्यापार घाटाको चुनौती कायमै छ ।

विशेषगरी इरानसँगको तेल व्यापारमा अमेरिकाले दिएको छुटले आगामी दिनमा ढुवानी लागत र बजार मूल्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा नेपालको लागि महत्त्वपूर्ण हुने देखिन्छ । अर्थमन्त्री बेसेन्टका अनुसार इरानी तेलको प्रयोग गरेर मूल्य नियन्त्रणमा राख्नु रणनीतिक कदम भएको र यसले विश्व अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने दाबी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्