नेपालको ‘डच डिजिज’: उद्योग कि प्रकृतिको पुँजी ?
पोषकराज पौडेल
नेपालले परम्परागत आत्मनिर्भरताको मोह त्यागेर आफ्ना विशिष्ट प्राकृतिक स्रोत- पानी, खनिज र वनलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने रणनीतिक ‘कमोडिटी’का रूपमा विकास गर्नुपर्छ। विकास र संरक्षणबिचको कृत्रिम द्वन्द्वलाई चिर्दै छिमेकी देशहरूको बढ्दो मागलाई सम्बोधन गरेर मात्रै हिमाली मुलुकले दिगो समृद्धिको आधार तयार पार्न सक्छ।
पछिल्लो समय विकासोन्मुख राष्ट्रहरूमा एउटा साझा भ्रम व्याप्त छ: सबै कुरा आफैँ उत्पादन गरेर मात्रै समृद्ध भइन्छ। तर, विश्वव्यापीकरणको यो युगमा तुलनात्मक लाभको सिद्धान्तलाई बिर्सिएर गरिने औद्योगिक महत्त्वाकाङ्क्षा अक्सर महँगो साबित हुने गर्छ।
नेपालजस्तो भूपरिवेष्टित र भौगोलिक रूपमा विशिष्ट देशका लागि यो यथार्थ झनै टड्कारो छ। छिमेकी देशहरूको विशाल उत्पादन क्षमतासँग प्रतिस्पर्धा गर्न नसकिने ससाना वस्तुमा लगानी गर्नुभन्दा हामीसँग जे ‘सर्वश्रेष्ठ’ छ, त्यसको उत्खनन र बजारीकरण गर्नु नै आजको आर्थिक आवश्यकता हो।
नेपालको वास्तविक पुँजी हाम्रा फ्याक्ट्रीका मेसिनहरूमा होइन, हाम्रा उच्च पहाड, तीव्र वेगका नदी र ४५ प्रतिशत वन क्षेत्रमा लुकेको छ। अरबले तेल बेचेर मरुभूमिलाई आधुनिक सहरमा रूपान्तरण गरेझैँ, नेपालले पनि आफ्नो जलविद्युत्, ढुङ्गा, बालुवा र भोलिको ऊर्जाको स्रोत मानिने ‘ग्रिन हाइड्रोजन’लाई निर्यातको मुख्य आधार बनाउनुपर्छ।
अबको आर्थिक बहस ‘हामी के बनाउन सक्छौँ’ भन्नेमा होइन, ‘हामीसँग भएको कुरा विश्वलाई कसरी बेच्न सक्छौँ’ भन्नेमा केन्द्रित हुनुपर्छ।
आत्मनिर्भरताको भ्रम र यथार्थ
हामी सधैँ एउटै कुरा दोहोर्याइरहन्छौँ- सबै थोक आफैँ बनाउनुपर्छ। तर, यथार्थ अलि कडा छ। हामीले जुत्ता, कपडा वा कार्पेट उद्योग खोलेर हजार जनालाई रोजगारी दिउँला, तर बजारमा जब चीनले ८०० रुपैयाँमा जुत्ता पठाउँछ, हाम्रो १२०० को लागत पर्ने उद्योग टिक्न सक्दैन। हामीले म्यानुफ्याक्चरिङमा छिमेकीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नै छैन। विकसित देशहरू समेत अहिले यो दौडमा पछि पर्दैछन्।
मेरो विचारमा, हामीले सबै कुरा आफैँ बनाउने ‘क्रान्तिकारी’ भूत त्याग्नुपर्छ। हामीलाई संकट पर्दा चाहिने औषधि र आधारभूत खाद्यान्नमा मात्र सस्टेनेबल बने पुग्छ। बाँकी कुरामा हामीले आयात-निर्यातको सिद्धान्तलाई पछ्याउनुपर्छ। हामीले त्यो क्षेत्रमा हात हाल्ने हो जहाँ हामीसँग ‘बेस्ट’ छ। त्यो ‘बेस्ट’ भनेको हाम्रो जलविद्युत्, हाम्रा पहाड र हाम्रो प्रकृति हो।
पहाड: ढुङ्गा मात्र होइन, डलरको स्रोत
नेपालका पहाडहरू हाम्रा लागि सुनको खानी हुन्। यदि हामीले पहाडभित्र सुन भेटेको भए त्यसलाई उत्खनन गर्थ्यौँ होला। तर, पहाड आफैँमा एउटा ठुलो उत्पादन हो भन्ने हामीले बिर्सियौँ। छिमेकी देश भारतको बिहार जस्ता क्षेत्रमा ठुला निर्माणका कामहरू भइरहेका छन्। उनीहरूलाई बाटो बनाउन, भवन उठाउन ढुङ्गा, बालुवा र गिटीको ठुलो आवश्यकता छ। हामीसँग पहाड छ, उनीहरूसँग माग छ।
हामीले वातावरणको नाममा सधैँ खुट्टा कमाउनु हुँदैन। त्रिशूलीको डाँडो पहिरो गएर खोलामा बग्नुभन्दा त्यसलाई वैज्ञानिक तवरले उत्खनन गरेर भारत पठाउन सके त्यसले देशलाई समृद्धि दिन्छ। बुटवलदेखि भैरहवासम्म ठुला केबलकारहरू बनाएर ढुङ्गा ओसार्न सकिन्छ। जसरी अरबले तेल बेचेर आफूलाई समृद्ध बनायो, हामीले हाम्रा खनिज र प्राकृतिक स्रोत बेचेर किन आम्दानी नगर्ने?
जब तपाईँको आम्दानी टनाटन हुन्छ, तब मात्र तपाईँले रेल र ठुला पूर्वाधारको सपना देख्न सक्नुहुन्छ।
४५ प्रतिशत वन र विकासको नयाँ मोडल
नेपालको ४५ प्रतिशत भूभाग वनले ओगटेको छ। यो गर्वको विषय त हो, तर यसलाई मात्रै हेरेर हामी गरिब बसिरहनु हुँदैन। मलेसियाले कुनै समय आफूसँग भएको जङ्गल जङ्गल व्यवस्थापन गरेर आजको आधुनिक स्वरूप पाएको हो। हाम्रा युवाहरू अस्ट्रेलिया र खाडी गइरहेका छन् किनकि यहाँ विकास छैन, रोजगार छैन।
हामीले वन पैदावारको सही व्यवस्थापन गर्नुपर्छ। जङ्गललाई वैज्ञानिक रूपमा फाँड्ने र तत्कालै नयाँ वृक्षारोपण गर्ने ‘रोटेसनल’ प्रणाली लागू गर्नुपर्छ। रुख काट्नु भनेको प्रकृति मास्नु मात्र होइन, यसलाई आर्थिक लाभमा बदल्नु पनि हो।
सुकुम्वासीहरूलाई सहर नजिकैका सरकारी जग्गामा अपार्टमेन्ट बनाएर व्यवस्थापन गर्ने र खाली भएका ठाउँमा ठुला प्रोजेक्टहरू सुरु गर्ने आँट सरकारले गर्नुपर्छ। यदि हामीले पाँच वर्ष मात्रै वन र खनिजको सही उपयोग गर्ने हो भने नेपालले सिंगापुरको स्तर छुन धेरै समय लाग्दैन।
भोलिको ‘ह्वाइट गोल्ड’ र हाइड्रोजन
अरबका देशहरू अहिले तेलका कारण शक्तिशाली छन्, तर भविष्य पानीको हो। इरान र कतारको द्वन्द्वमा पनि हामीले देख्यौँ, पानीको प्रोसेसिङ युनिट कति संवेदनशील हुन्छ। नेपालको पानी विश्वकै लागि लाइफलाइन बन्न सक्छ।हामीले हिमालयन वाटरुका नाममा हाम्रा हिमालका पानी प्याक गरेर अरबका मरुभूमिमा बेच्नुपर्छ। २० रुपैयाँको पानीलाई १०० रुपैयाँमा बेच्ने मार्केटिङ रणनीति हामीलाई चाहिन्छ।त्यति मात्र होइन, अबको २० वर्षमा विश्व हाइड्रोजन इनर्जीमा जानेछ। हाइड्रोजन पानीबाटै बन्ने हो। र, हाइड्रोजन बनाउनका लागि समुन्द्रको नुनिलो पानीभन्दा हाम्रो प्राकृतिक स्वच्छ पानी कैयौँ गुणा सस्तो र प्रभावकारी हुन्छ। भविष्यको ऊर्जाको स्रोत नै हाम्रा खोलानाला हुन्।त्यसैले अहिले नै हाइड्रो पावरमा लगानी बढाउनुपर्छ, पिपिए खोल्नुपर्छ र भारतसँग बलियो ट्रेड एग्रिमेन्ट गरेर बिजुली बेच्नुपर्छ। भुटानले भारतसँगकै सहकार्यमा आफूलाई कहाँ पुर्याइसक्यो, हामी भने बिना कामको राष्ट्रियताको अडानमा अल्झिएर पछि पर्यौँ।
आर्थिक सुधारको बाटो
धेरैले मलाई सोध्छन्- बीमा र बैंकका लागि नयाँ नीति के चाहिन्छ? म भन्छु, नीति मात्रै ठुलो कुरा होइन। जब समग्र इकोनोमी चलायमान हुन्छ, जब गाउँको किसानको गोजीमा पैसा हुन्छ, ऊ आफैँ बीमा गर्न आउँछ। सरकारले विज्ञापन वा बीमाका लागि विशेष पोसिली बनाइरहनु पर्दैन, मात्र काम गर्ने वातावरण र व्यवसाय फस्टाउने आधार बनाइदिए पुग्छ।आइटी सेक्टर हाम्रा लागि अर्को ठुलो सम्भावना हो। हजारौँ युवाले घरमै बसेर डलर कमाइरहेका छन्। यस्ता क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ। हामीले नियत सफा राखेर अगाडि बढ्ने हो भने स्रोतको कमी छैन।हामी गरिब भएर जन्मिनु हाम्रो गल्ती थिएन, तर स्रोत र साधन हुँदाहुँदै गरिब भएर बाँचिरहनु चाहिँ हाम्रो अक्षमता हो। अबको सरकारले यी प्राकृतिक स्रोतको बजारीकरणमा ध्यान दियो भने नेपालको समृद्धि टाढा छैन।
(पौडेल सिटिजन लाइफ इन्स्योरेन्सको सिइओ तथा नेपाल जीवन बीमक सङ्घको अध्यक्षसमेत हुन्)













