चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय रिट्रिभल मेडिसिनसम्बन्धी एडभान्स तालिम
काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय रिट्रिभल मेडिसिन सम्बन्धी एडभान्स ट्रेनिङ एन्ड ट्रेनर्स (टिओटी) कार्यक्रम सम्पन्न भएको छ ।
चैत २३ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको सो कार्यक्रम नेपाल मेडिसिटी अस्पतालले स्कटल्यान्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस) सँगको सहकार्यमा गरिएको हो ।
अस्पतालका अनुसार पहिलो पटक सञ्चालन गरिएको तालिम ‘रिट्रिभल मेडिसिन’ मा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यमा आयोजना गरिएको थियो ।
अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस प्रमुख डा. सञ्जय कार्कीले यस विशेष तालिमले हेलिकप्टरमार्फत गरिने उद्धार (एयर लिफ्ट) र गम्भीर बिरामीहरूलाई सुरक्षित तथा स्थानान्तरण सेवामा थप आयाम थप्ने विश्वास व्यक्त गरे।
डा. कार्कीले भने, ‘तालिममा चिकित्सक, नर्स तथा प्यारा मेडिक्सलाई आपत्कालीन चिकित्सा सेवा तथा प्रि–हस्पिटल केयर विशेष गरी हेलिकप्टर रेक्स्यु सम्बन्ध दक्ष बनाउने पक्ष गरिएको छ ।’
यस तालिमले सहभागीहरूलाई भविष्यमा अन्य स्वास्थ्यकर्मीलाई तालिम दिन सक्ने प्रशिक्षकसमेतको क्षमता विकास भएको छ,“उनले भने ।
तालिमका क्रममा बिरामीलाई सुरक्षित रूपमा सार्ने, हेलिकप्टरभित्रको उपयुक्त अवस्थिति र यात्रा अवधिभर गरिने आवश्यक हेरचाहबारे व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको जनाएको छ।
कार्यक्रममा स्कटल्यान्डका विशेषज्ञ प्रशिक्षकहरूका साथै स्वीट्जरल्याण्ड, भारत र जापानका ख्यातिप्राप्त चिकित्सकहरूले आफ्ना अनुभव र प्रशिक्षण प्रस्तुत गरेका थिए ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यस तालिमले भविष्यमा बिरामीको सुरक्षित स्थानान्तरण र व्यवस्थापनमा स्वास्थ्यकर्मीहरू थप निपुण हुने विश्वास व्यक्त गरे ।
अस्पतालका अनुसार, देशका विभिन्न सरकारी तथा निजी अस्पतालका ९० प्रतिशत चिकित्सक सहभागी थिए भने नर्स तथा प्यारामेडिक्ससम्बन्धी ३० जनाको सहभागिता भएको थियो।
मेडिसिटी अस्पतालकी डा. प्रतीक्षा प्रधानले भनिन्, “हामीले केवल ट्रेनिङ लिएका मात्र होइन, अन्यलाई पनि प्रशिक्षण दिन सक्ने स्तरसम्म पुगेका छौँ।” उनले थपिन्, “दुर्घटना वा अन्य आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल पुर्याउनुअघि सुरक्षित उपचार कसरी गर्ने भन्ने ज्ञान थप प्राप्त भएको छ ।”













