बेनी र कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बेनी र कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । दुई जलविद्युत कम्पनीहरू बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड र कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज चैत १५ गते अन्तिम दिन रहेको छ। बेनी हाइड्रोले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र कालंगा हाइड्रोले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेका थिए।

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १० लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।

कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको १० प्रतिशत हिस्सा स्थानीयका लागि छुट्याएको हो। जसमध्ये सोलुदुधकुण्ड नगरपालिकाका वडा नं. २, ३ र ४ का अति प्रभावित बासिन्दालाई ५ लाख २० हजार कित्ता र सोही नगरपालिकाका वडा नं. ५, ६, ७ र ११ का बासिन्दालाई ३ लाख १२ हजार कित्ता शेयर छुट्याइएको छ। बाँकी २ लाख ८ हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि वितरण गरिनेछ।

यस आईपीओमा स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ। कम्पनीले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसको पहिलो चरणमा स्थानीयका लागि यो निष्काशन गरिएको हो।

त्यसैगरी, कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो। कम्पनीले आफ्नो १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने क्रममा सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याएको हो।

श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्