हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा



काठमाडाैं । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

२०८१ जेठ २४ गते मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’ लाई मुख्य कारण देखाउँदै पद त्यागेका हुन्।

आफ्नो राजीनामा पत्रमा उनले उद्योगको सुधारका लागि भएका प्रयासहरू उल्लेख गरेका छन्। पुरानो मेसिनरी, प्रविधिगत समस्या र गम्भीर आर्थिक अभावका बाबजुद उद्योगलाई निरन्तरता दिन सफल भएको उनको दाबी छ। हाल उद्योगमा क्लिङ्कर उत्पादन र बिक्री प्रक्रिया नियमित रहेको उनले जानकारी दिएका छन्।

भण्डारीले उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक पुँजी र चालू खर्चका लागि सरकारसँग पटक-पटक ऋण तथा अनुदान माग गरे पनि मन्त्रालयबाट कुनै ठोस नीतिगत निर्देशन वा आर्थिक सहयोग नपाएको गुनासो समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्