शनिबार चट्याङले क्षति गरेको रसुवाको विद्युत् सेवा आयो सञ्चालनमा, - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शनिबार चट्याङले क्षति गरेको रसुवाको विद्युत् सेवा आयो सञ्चालनमा,



रसुवा । चट्याङका कारण अवरुद्ध बनेको यहाँको विद्युत् सेवा पुन: सुचारु भएको छ । गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुगेको थियो ।

क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुन: सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण शाखाले जनाएको छ । प्राधिकरणका प्राविधिक प्रमुख कुमार घलेका अनुसार चट्याङबाट चारवटा ट्रान्सफर्मर क्षति पुर्‍याएको थियो । मौज्दात नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्ति सुरु गरिएको हो ।

चट्याङबाट उत्तरगया गाउँपालिकाको माझगाउँ, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चेको साप्चे, आमा छोदिङ्मो गाउँपालिकाको बहुङडाँडा गोल्जुङ र पुरानो तातोपानी क्षेत्रका ट्रान्सफर्मरमा क्षति पुगेको थियो ।ट्रान्सफर्मरमा क्षति पुग्दा धुन्चेमा समेत विद्युत सेवामा समस्या देखिएको थियो ।

जिल्लामा विद्युत् उपभोग गर्ने करिब १० हजार ६०० ग्राहक रहेको प्राधिकरणले जनाएको छ । ट्रान्सफर्मर मरमत गर्न तत्काल कर्मचारी परिचालन गरिएको शाखा प्रमुख गुञ्जमान तामाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्