सानिगाड हाइड्रोको आइपीओमा आजसम्म आवेदन सकिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सानिगाड हाइड्रोको आइपीओमा आजसम्म आवेदन सकिने



काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

चैत ८ गतेदेखि बिक्री खुला गरिएको यस आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण कम्पनीले आज चैत २५ गते बैंकिङ समयपश्चात् निष्काशन बन्द गर्न लागेको हो।

यसअघि कम्पनीले आवेदन दिने अवधि २०८३ वैशाख ७ गतेसम्म लम्ब्याएको भए तापनि स्थानीय लगानीकर्ताहरूको उच्च आकर्षणका कारण पूर्वनिर्धारित समयअगावै बिक्री बन्द हुन लागेको हो। कम्पनीले आफ्नो कुल जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोही अनुमति अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीमा ल्याइएको हो। जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर अति प्रभावित क्षेत्रका रूपमा रहेको सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दाहरूका लागि छुट्ट्याइएको छ।

बाँकी रहेको ९ लाख ९७ हजार ५०० कित्ता शेयर भने बुंगल नगरपालिकाकै वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दाहरूमा बाँडफाँड गरिने कम्पनीले जनाएको छ। इच्छुक लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्