महासंघको नेतृत्व सम्हाल्दा अघि सारेका सबै लक्ष्य पूरा गर्न सफल भएँ: चन्द्रप्रसाद ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीन वर्षे कार्यकालमा पदभार ग्रहण गर्दा अघि सारेका पाँचवटै मुख्य प्राथमिकताहरूमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएका छन्।
बुधबार ललितपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आफूले नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहे पनि हाल आर्थिक गतिविधि चलायमान बनाउन र लगानीमैत्री वातावरण निर्माण गर्न सफल भएको बताए।
कोभिड–१९ को असर, अन्तर्राष्ट्रिय द्वन्द्व र नीतिगत अन्योलका बीच निजी क्षेत्रको मनोबल जोगाउनु आफ्नो पहिलो प्राथमिकता रहेको उनले उल्लेख गरे। नीतिगत सुधारका क्षेत्रमा महासंघले नयाँ उचाइ हासिल गरेको चर्चा गर्दै उनले अब महासंघ परम्परागत माग राख्ने भूमिकाबाट माथि उठेर नीति निर्माणमै सक्रिय सहभागी हुन थालेको बताए।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठन र ३० भन्दा बढी कानुन सुधारका लागि गरिएको सिफारिस लगानीको वातावरण सुधार्ने महत्त्वपूर्ण आधार भएको उनको भनाइ थियो।
राज्य र निजी क्षेत्रबीचको सम्बन्धमा आएको परिवर्तनबारे बोल्दै अध्यक्ष ढकालले विगतको टकरावको संस्कृति अन्त्य गरी सहकार्य र साझेदारीको नयाँ युग सुरु भएको बताए। निजी क्षेत्रलाई अख्तियारको नियमनको दायरामा ल्याउने प्रस्ताव परिमार्जन गराउन सफल भएको र लामो समयदेखिको ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ महसुल विवाद समाधानका लागि ठोस मध्यस्थता गरिएको उनले जानकारी दिए।
आन्तरिक पुँजी परिचालनका लागि १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको र अन्तर्राष्ट्रिय स्तरमा भारत, चीन, यूएई, कतार र बेलायतजस्ता मुलुकमा लगानी सम्मेलन आयोजना गरी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पहल गरिएको उनले स्पष्ट पारे।
अध्यक्ष ढकालले महासंघको संस्थागत सुधारका लागि विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप समावेशी र पारदर्शी बनाएको बताए। अध्यक्षको प्रत्यक्ष निर्वाचन र महिला सहभागिता वृद्धि जस्ता कदमले महासंघलाई थप प्रतिस्पर्धी बनाएको उनको दाबी थियो। पहिलो पटक निजी क्षेत्रको योगदानबारे अनुसन्धान प्रतिवेदन प्रकाशित गरी तथ्यमा आधारित पैरवी गर्ने आधार तयार पारिएको समेत उनले बताए।
आफ्नो कार्यकाललाई परिणाममुखी बनाउन सञ्चार क्षेत्रबाट प्राप्त रचनात्मक आलोचना र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै उनले आगामी दिनमा पनि यो सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।













