कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६८ हजारले पाए सेयर
काठमाडौं । सर्वसाधारणका लागि निष्काशन गरिएको कालिञ्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबार औपचारिक रूपमा बाँडफाँड गरिएको छ ।
बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरेको बाँडफाँड अनुसार आवेदन दिएका ठूलो संख्याका लगानीकर्तामध्ये केवल सानो हिस्साले मात्र सेयर हात पारेका छन् ।
कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म ६ लाख ८४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कुल १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको यस कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँड गरिसकेको थियो । बाँकी रहेको सेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि छुट्टाएपछि मात्र सर्वसाधारणको भागमा ६ लाख ८४ हजार कित्ता परेको हो ।
गोलाप्रथाबाट भाग्यमानीको चयन यस आईपीओमा आवेदन दिनेहरूको संख्या निकै ठूलो थियो । कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ जनाको मात्रै आवेदन रितपूर्वक स्वीकृत भएको थियो । मागभन्दा धेरै गुणा बढी आवेदन परेपछि गोलाप्रथा माध्यमबाट सेयर बाँडफाँड गरिएको हो ।
बाँडफाँडको नतिजा अनुसार ६८ हजार ४७५ जनाले मात्र १०–१० कित्ताका दरले सेयर प्राप्त गर्न सफल भएका छन् । आवेदन दिएका मध्ये २५ लाख ६७ हजारभन्दा बढी आवेदकको हात भने रित्तिएको छ । लगानीकर्ताहरूले अब विभिन्न तीनवटा माध्यमबाट आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।













