नेप्सेको नयाँ ‘सर्किट ब्रेक’ व्यवस्थाले लगानीकर्ता निरुत्साहितः सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सर्किट ब्रेकको नयाँ व्यवस्था लागू गरेकै दिन बजार मापक सूचक नेप्से १३.१७ अंकले घटेर २८सय २५ दशमलव २३ विन्दुमा ओर्लिएको छ।
नेप्सेले २०८३ वैशाख ७ गते (आज) देखि लागू हुने गरी सर्किट ब्रेक र मूल्य सीमामा नयाँ व्यवस्था गरेपछि लगानीकर्ताहरू निरुत्साहित देखिएका हुन्।
नेप्से परिसूचकसँगै आज काराेबार रकम पनि घटेकाे छ। आज ३४९ कम्पनीकाे १ कराेड १६ लाख ५३ हजार ३७० कित्ता सेयर ५ अर्ब ४३ कराेड ४२ लाख ४० हजार रूपैयाँमा काराेबार भएकाे छ।
अघिल्लो कारोबार दिन शुक्रबार ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।
आज १२ वटै समुहका उपसूचक घटेका छन् भने हाेटल तथा पर्यटन समुहकाे उपसूचक १.०१ प्रतिशत बढेकाे छ।
६५ वटा कम्पनीकाे सेयर मूल्य घटेकाेमा आज सुर्यकुण्ड हाइड्राे र हाेटल फरेस्ट इनकाे सेयर मूल्यमा सकारात्मक सर्किट (१५ प्रतिशतले बढेकाे) लागेकाे छ। यस्तै पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टकाे सेयर मूल्य १४.९९ प्रतिशत बढेकाे छ। यस्तै झापा इनर्जीकाे सेयर मूल्य ११.८८ र रिज लाइन इनर्जीकाे सेयर मूल्य १०.९९ प्रतिशतले बढेकाे छ।
नयाँ व्यवस्था अनुसार कम्पनीको सूचीकरण पछिको पहिलो कारोबारमा साविकको २ प्रतिशतको सीमामा १५० प्रतिशत थप गरी ५ प्रतिशत पुर्याइएको छ। त्यस्तै, एकल कम्पनीको सेयर मूल्य घटबढ हुने दैनिक सीमालाई समेत ५० प्रतिशतले बढाएर १५ प्रतिशत पुर्याइएको छ।
नेप्सेको यो नयाँ नीतिप्रति आम लगानीकर्ताहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले पूँजी बजारका ५६ लाख ५५ हजारभन्दा बढी लगानीकर्ताको हित संरक्षण गर्नुको सट्टा नियामकले सीमित स्वार्थ समूहलाई पोस्ने गरी काम गरेको आरोप लगाएका छन्।













