फोनेपेको नेतृत्वमा दिवस कुमारकै निरन्तरता: थप चार वर्षका लागि पुनः सिईओ नियुक्त
काठमाडौँ। फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिवस कुमारलाई थप चार वर्षको कार्यकालका लागि पुनः नियुक्त गरेको घोषणा गरेको छ, जसले संस्थागत नेतृत्व निरन्तरतालाई मजबुत बनाएको छ।
दिवस कुमार, जो २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका छन्, बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक नेतृत्वमा २० वर्षभन्दा बढीको अनुभव बोकेका छन्।
उनले फोनपेको प्रारम्भिक टोलीको एक सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृतको भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
२०२१ मा सीईओको जिम्मेवारी सम्हालेपछि, कुमारको नेतृत्वमा फोनेपे आफ्नो सबैभन्दा महत्वपूर्ण वृद्धि चरणबाट गुज्रिएको छ। उनको नेतृत्वमा फोनेपे प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकबाट नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारमा रूपान्तरण भएको छ।
उनको पाँच वर्षे कार्यकालमा हासिल गरिएका उपलब्धिहरूले उनको नेतृत्वमा भएको रूपान्तरणको स्पष्ट संकेत दिन्छन्:
• सञ्चालनको पहिलो वर्षमै सबै बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै भुक्तानी सञ्जालमा जोड्दै नेपालको पहिलो ओपन लूप क्युआर भुक्तानी प्रणालीको नेतृत्व।
• उनको नेतृत्वमा फोनपे नेपालको दैनिक वित्तीय जीवनको अभिन्न हिस्सा बन्न सफल भएको छ—बैंकिङ प्रणालीमा आबद्ध प्रत्येक नेपालीलाई सेवा दिँदै र देशभरका लाखौं व्यवसायहरूका लागि फोन-पे क्युआर, फोन-पे डाइरेक्ट, फोन-पे बिल्स, फोन-ट्याग र फोन-पे क्रेडिट कार्ड जस्ता सेवामार्फत विकासका अवसर सिर्जना गर्दै।
• डिजिटल कारोबारमा तीव्र वृद्धि हासिल गर्दै दैनिक २५ लाखभन्दा बढी कारोबार संख्या र दैनिक १५ अर्ब रुपैयाँभन्दा बढी कारोबार मूल्य पार गर्न सफल।
• भारत तथा चीनका भुक्तानी सञ्जालहरूसँग एकीकरण गर्दै नेपालको क्रस-बोर्डर डिजिटल भुक्तानी क्रान्तिको नेतृत्व।
• विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्यमा फेनपे भर्चुअल क्रेडिट कार्ड सुरु गर्दै १.५ वर्षभित्र ३०,००० भन्दा बढी कार्ड जारी।
• देशका सबै ७७ जिल्लामा २० लाखभन्दा बढी क्युआर टर्मिनलसहित मर्चेन्ट सञ्जाल विस्तार।
पुनः नियुक्तिपछि प्रतिक्रिया दिँदै सीईओ दिवास कुमारले भने “म सञ्चालक समितिले ममाथि देखाएको विश्वास र भरोसाप्रति अत्यन्त आभारी छु। यो नवीकरण केवल व्यक्तिगत उपलब्धि मात्र होइन, यो नेपालमा डिजिटल भुक्तानी यात्रा अझै सुरुवातमै छ भन्ने हाम्रो सामूहिक विश्वासको पुनः पुष्टि हो। आगामी वर्षहरूमा मेरो ध्यान फोनेपेलाई केवल भुक्तानी नेटवर्क मात्र नभई प्रत्येक नेपालीलाई सेवा दिने पूर्ण वित्तीय प्लेटफर्ममा रूपान्तरण गर्ने हुनेछ। म सञ्चालक समिति, बैंकिङ साझेदार, नियामक नेपाल राष्ट्र बैंक, र सम्पूर्ण फोनेपे टोलीप्रति आभारी छु।”
कुमारले आफ्नो नवीकृत कार्यकालमा तीन प्रमुख रणनीतिक स्तम्भमा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनले क्षेत्रीय तथा क्रस-बोर्डर भुक्तानी अन्तरसम्बन्ध, उत्पादन तथा इकोसिस्टम विस्तार र नेपालका वित्तीय पहुँच कम भएका क्षेत्रहरूमा वित्तीय समावेशीकरण विस्तारमा केन्द्रित रहने बताए।
साथै, उनले फोनेपेलाई सार्वजनिक कम्पनी (आईपीओ) मा लैजाने प्रक्रियाको पनि सुपरिवेक्षण गर्नेछन्, जुन गत डिसेम्बरमा सेयरधनीहरूको स्वीकृतिपछि कार्यान्वयन चरणमा प्रवेश गरिसकेको छ।













