वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्दै माउन्ट एभरेष्ट पावर
काठमाडाैं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो चरणकाे आईपीओ निष्काशन गर्ने भएकाे छ ।
कम्पनीले उक्त आईपीओ आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि बिक्री खुला गर्न लागेको हो।
कम्पनीले आफ्नो कुल ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको शेयर निष्काशनको अनुमति पाएको छ। यस अन्तर्गत आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका बासिन्दाका लागि ८ लाख ६० हजार कित्ता शेयर छुट्याइएको छ। कुल स्थानीय कोटा मध्ये ३ लाख ४४ हजार कित्ता अति प्रभावित क्षेत्र (वडा नं. १ र २) का लागि र बाँकी ५ लाख १६ हजार कित्ता सोही नगरपालिकाका अन्य वडाहरूका बासिन्दाका लागि वितरण गरिनेछ।
यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरूले प्रतिकित्ता १०० रुपैयाँका दरले यसमा लगानी गर्न सक्नेछन्।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। निष्काशन तालिका अनुसार वैदेशिक रोजगारीमा रहेकाहरूले छिटोमा वैशाख २३ र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाका हकमा भने छिटोमा वैशाख ३१ र ढिलोमा जेठ १८ गतेसम्म आवेदन दिने समय सीमा तोकिएको छ।













