कृषि उपज खरिद गरेको २५ दिनभित्रै भुक्तानी दिनुपर्ने, ढिला भए ब्याज तिर्नुपर्ने - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

कृषि उपज खरिद गरेको २५ दिनभित्रै भुक्तानी दिनुपर्ने, ढिला भए ब्याज तिर्नुपर्ने



काठमाडौं । सरकारले कृषि उपज खरिद गरेको २५ दिनभित्रै अनिवार्य भुक्तानी गर्न निर्देशन दिएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयले विज्ञप्ति जारी गर्दै कृषि उपज खरिद गर्ने व्यापारी तथा संघसंस्थाहरूले किसानलाई २५ दिनभित्र अनिवार्य रूपमा भुक्तानी गरिसक्न निर्देशन दिएकाे हाे ।

सरकारको ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ अनुरुप किसानको पसिनाको उचित मूल्य र समयमै भुक्तानी सुनिश्चित गर्न यो कदम चालिएको हो।

कृषकहरूले आफ्नो उत्पादनको उचित मूल्य समयमै पाउन सकून् भन्ने उद्देश्यले ल्याइएको यो नियमअनुसार कृषि उपज खरिदमा हुने उधारो कारोबार अब अधिकतम २५ दिनभन्दा बढी हुन पाउने छैन। यदि तोकिएको उक्त अवधिभित्र भुक्तानी नभएमा खरिदकर्ताले किसानलाई बाँकी रकमको ब्याजसमेत उपलब्ध गराउनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

यो निर्णयलाई अनिवार्य रूपमा पालना गर्न मन्त्रालयले सबै निजी फर्म, उद्यमी, सरकारी तथा निजी संस्थान, सहकारी र कम्पनीहरूलाई सूचित गरेको छ। कृषि क्षेत्रमा हुने भुक्तानीको ढिलासुस्तीलाई अन्त्य गरी किसानलाई आर्थिक रूपमा सुरक्षित बनाउन यो कदम चालिएको विज्ञप्तिमा उल्लेख छ।

साथै, यो व्यवस्था कार्यान्वयनका क्रममा कुनै समस्या आएमा वा कसैले तोकिएको समयमा भुक्तानी नदिएमा किसानहरूले आवश्यक प्रमाणसहित सिधै मन्त्रालयमा सम्पर्क गरी गुनासो दर्ता गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ।


प्रतिक्रिया दिनुहोस्