हिमालयन बैंक अब औपचारिक रूपमा फोनेपे नेटवर्कमा आवद्ध - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन बैंक अब औपचारिक रूपमा फोनेपे नेटवर्कमा आवद्ध



काठमाडौं। फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले आज हिमालयन बैंक लिमिटेडलाई औपचारिक रूपमा फोनेपे नेटवर्कमा आबद्ध गरिएको घोषणा गरेको छ।

यो साझेदारी नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि एक महत्वपूर्ण उपलब्धि हो, जसले देशको सबैभन्दा विस्तृत भुक्तानी पूर्वाधारलाई निजी वाणिज्य बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अग्रणी संस्थासँग जोडेको छ।

सन् १९९३ मा स्थापित हिमालयन बैंक नेपालको प्रतिष्ठित निजी क्षेत्रीय बैंकका रूपमा परिचित रहँदै आएको छ। विश्वास, नवप्रवर्तन, र वित्तीय नेतृत्वको पर्याय बनेको हिमालयन बैंक आधुनिक बैंकिङ सेवा नेपालमा भित्र्याउने अग्रणी संस्थाका रूपमा व्यापक रूपमा मान्यता प्राप्त छ।

देशभर फैलिएको शाखा सञ्जाल र तीन दशकभन्दा बढी समयदेखि निर्माण भएको बलियो ग्राहक आधारका साथ, हिमालयन बैंकको फोनेपे नेटवर्कमा एकीकरणले ठूलो स्तरमा डिजिटल भुक्तानीको प्रयोगलाई तीव्र बनाउने अपेक्षा गरिएको छ, जसले देशभरका लाखौं हिमालयन बैंक ग्राहकहरूलाई सहज क्यूआर(आधारित कारोबारको सुविधा प्रदान गर्नेछ।

उस अवसरमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नेपालका अग्रणी निजी क्षेत्रीय वाणिज्य बैंकहरूमध्ये एकका रूपमा सधैं देशको वित्तीय भविष्य निर्माणमा अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेकाे भन्दै फोनेपे नेटवर्कमा आबद्ध हुनु यही विरासतको स्वाभाविक विस्तार भएकाे बताए।

उनले भने, ‘अब हाम्रा ग्राहकहरूले अन्तरसञ्चालनयोग्य डिजिटल भुक्तानीका सम्पूर्ण फाइदाहरू- छिटो, सुरक्षित, र फोनेपे जहाँजहाँ छ त्यहाँ स्वीकार्य -अनुभव गर्न सक्नेछन्।’

यस्तै फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हिमालयन बैंकलाई फोनेपे नेटवर्कमा स्वागत गर्नु नेपालको डिजिटल भुक्तानी यात्राकाे महत्त्वपूर्ण कोसेढुङ्गा रहेकाे बताए ।

नेपाली ग्राहकहरूसँग हिमालयन बैंकले निर्माण गरेको गहिरो विश्वास र फोनेपेका २० लाखभन्दा बढी व्यापारी टचपोइन्टहरूको पहुँचले साँच्चिकै नगदरहित नेपालको दिशामा अझ तीव्र गतिमा अघि बढ्न मद्दत गर्ने उनकाे विश्वास छ।

उनले भने, ‘देशको अग्रणी निजी बैंकका रूपमा हिमालयन बैंकले अनुपम विश्वसनीयता र पहुँच ल्याएको छ। हामी मिलेर नेपालको हरेक कुनामा, हरेक नेपालीका लागि डिजिटल भुक्तानी पहुँचयोग्य बनाउनेछौं।’

हाल यो साझेदारी प्राविधिक एकीकरणको चरणमा रहेको छ। एकीकरण प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि हिमालयन बैंकका ग्राहकहरूले फोनेपे नेटवर्कभर सहज रूपमा कारोबार गर्न सक्नेछन्।

यो आबद्धताले नेपालमा समावेशी, अन्तरसञ्चालनयोग्य, र राष्ट्रिय रूपमा एकीकृत डिजिटल भुक्तानी प्रणाली निर्माण गर्ने फोनेपेको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हिमालयन बैंक नेटवर्कमा आबद्ध भएसँगै बैंकहरूले विश्वास गर्ने, व्यापारीहरूले रोज्ने, र लाखौं प्रयोगकर्ताहरूले प्रयोग गर्ने नेटवर्कका रूपमा फोनेपेले नेपालको डिजिटल अर्थतन्त्रको जोड्ने पूर्वाधारका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाएको छ।


प्रतिक्रिया दिनुहोस्