काठमाडौंमा ‘हाइड्रो पावर कस्टमर मिट’ सम्पन्न: टाटा हिटाचीका अत्याधुनिक मेसिनहरू प्रदर्शन
काठमाडौं । दुगड अर्थमुभर्स प्रालिले टाटा हिटाची कन्स्ट्रक्सन मेसिनरी कम्पनी लिमिटेडसँगको सहकार्यमा काठमाडौंमा ‘हाइड्रो पावर कस्टमर मिट’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपालका विभिन्न हाइड्रो परियोजना सञ्चालकहरू, ठेकेदारहरू तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा मेसिनहरूको विश्वसनीयता र कार्यक्षमतामा जोड दिइएको आयोजकले बताएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले नेपालका हाइड्रोपावर परियोजनाहरूमा दिगो सहकार्यको ठूलो महत्व रहेको बताए। स्वागत मन्तव्यका क्रममा उनले जलविद्युतको विकासका लागि भरपर्दो मेसिनरी साधन आवश्यक पर्नेमा जोड दिएको कम्पनीले जनाएको छ। कार्यक्रममा समूहका कार्यकारी निर्देशक शुभम दुगडले एमभी दुगड समूहको व्यवसायिक पोर्टफोलियो प्रस्तुत गर्दै पूर्वाधार विकासमा समूहले पुर्याएको योगदानबारे प्रकाश पारेका थिए।
प्राविधिक सत्रमा टाटा हिटाचीका एक्सपोर्ट हेड जयकारा काल्माडीले टाटा हिटाचीको इतिहास र यसले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेका उपलब्धिहरू प्रस्तुत गरेका थिए। त्यस्तै, सार्क कन्ट्री हेड सौरभ गुप्ताले टाटा हिटाचीका एक्स्काभेटर र ब्याकहो लोडरहरूको उत्पादन दायरा, तिनको हाइड्रो परियोजनामा हुने विशिष्ट प्रयोग र त्यसबाट प्राप्त हुने फाइदाबारे विस्तृत जानकारी दिएको कार्यक्रममा सहभागीहरूले बताएका छन्।
सोही अवसरमा व्यापार प्रमुख निरज सापकोटाले हाइड्रोपावर कन्स्ट्रक्सनको कठिन कामका लागि उपयुक्त हुने विभिन्न मेसिनहरूको बारेमा जानकारी दिएका थिए। टाटा हिटाचीका उपकरणहरूको उच्च विश्वसनीयता, टिकाउपन र नेपालको कठिन भौगोलिक अवस्थामा यसले दिने उत्कृष्ट प्रदर्शन नै यसको मुख्य विशेषता रहेको उनले बताए।
कार्यक्रममा टाटा हिटाचीका सिनराई पावर ब्याकहो लोडर, ईएक्स २१५ क्वारी एक्स्काभेटर र जेडएक्स २२० एलसी अल्ट्रा एक्स्काभेटर जस्ता अत्याधुनिक मेसिनहरू प्रदर्शनमा राखिएको थियो। उक्त अवसरमा ग्राहकहरूका लागि विशेष वारेन्टी स्किम समेत उपलब्ध गराइएको जानकारी दिइएको छ।













