एनआईसी एशिया लघुवित्तको सिइओमा जागिर खुल्यो, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । एनआईसी एशिया बैंकको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नेतृत्वदायी भूमिकाका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को खोजी सुरु गरेको छ ।
संस्थाले एक सूचना जारी गर्दै व्यवस्थापकीय श्रेणीको यस गरिमामय पदका लागि योग्य र उत्साही नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो ।
संस्थाद्वारा प्रकाशित सूचना अनुसार, इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले वैशाख १७ गतेदेखि १५ दिनभित्र आफ्नो आवेदन पेश गरिसक्नुपर्नेछ । नियुक्त हुने कार्यकारी प्रमुखले काभ्रेपलाञ्चोकको बनेपास्थित संस्थाको कर्पोरेट कार्यालयमा रहेर कार्यभार सम्हाल्नुपर्नेछ ।
योग्यता र अनुभवका शर्तहरू यस पदका लागि आवेदन दिन उम्मेदवारले नेपाल राष्ट्र बैंकले ’घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका सीईओका लागि तोकेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ ।
अनुभवको हकमा, बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था वा अन्तर्राष्ट्रिय संस्थाहरूमा कम्तीमा १० वर्षको कार्य अनुभव र त्यसमध्ये व्यवस्थापकीय तहमा न्यूनतम ३ वर्षको अनुभव आवश्यक पर्नेछ । लघुवित्त क्षेत्रमा कामको अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ ।
त्यसैगरी, आवेदकको उमेर दरखास्त दिने मितिसम्म ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्नेछ । पदको पारिश्रमिक तथा सेवा सुविधाहरू आपसी समझदारीमा तय गरिनेछ ।
आवेदन प्रक्रिया र छनोट आवेदनका साथमा हालसालै खिचिएको फोटो, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू, नागरिकताको प्रतिलिपि, विस्तृत बायोडाटा, दुई जना सिफारिसकर्ताको विवरण र स्वघोषणा पत्र संलग्न गर्नुपर्नेछ । उम्मेदवारले ५ हजार रुपैयाँ दरखास्त दस्तुर एनआईसी एशिया बैंकको बनेपा शाखामा रहेको संस्थाको खातामा जम्मा गरी भौचर पेश गर्नुपर्ने प्रावधान रहेको छ ।
रितपूर्वक प्राप्त भएका आवेदनहरूमध्येबाट संक्षिप्त सूची (शर्ट लिस्ट) तयार गरिनेछ सर्ट लिस्टमा परेका उम्मेदवारहरूलाई मात्र व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट प्रक्रियामा सामेल गरिनेछ । इच्छुक आवेदकले इमेलमार्फत वा बनेपास्थित कर्पोरेट कार्यालयमा खामबन्दी रूपमा आफ्नो आवेदन बुझाउन सक्नेछन् ।













