७ श्रावण २०८३, बिहिबार

अटो चाइना २०२६ : झण्डै १३ लाख दर्शक र १८१ नयाँ गाडीको विश्वव्यापी ‘डेब्यु’ ले रच्यो नयाँ इतिहास



काठमाडाैं । विश्व अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो उत्सव मानिने ‘बेइजिङ इन्टरनेशनल अटोमोटिभ एक्जिबिसन’ अर्थात् अटो चाइना २०२६ भव्य रूपमा सम्पन्न भएको छ।

चीनको बेइजिङमा आयोजित यो १० दिने मेलाले विश्वव्यापी अटो बजारमा नयाँ बेन्चमार्क स्थापित गर्दै धेरै वटा ऐतिहासिक रेकर्डहरू कायम गरेको छ।

‘फ्युचर अफ इन्टेलिजेन्स’ (बुद्धिमत्ताको भविष्य) भन्ने मुख्य नाराका साथ यो मेला गत अप्रिल २४ (वैशाख ११) देखि सुरु भएको थियो। १० दिनसम्म चलेको यस प्रदर्शनीमा विश्वभरका सवारी प्रेमी, लगानीकर्ता र प्रविधि विज्ञहरूको अभूतपूर्व सहभागिता रह्यो।

प्रदर्शनी बेइजिङका दुईवटा ठूला स्थानहरूमा कुल ३ लाख ८० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो, जसलाई अहिलेसम्मकै विशाल प्रदर्शनी क्षेत्र मानिएको छ।

गत वैशाख ११ (अप्रिल २४) देखि ३ लाख ८० हजार वर्ग मिटरको विशाल क्षेत्रफलमा फैलिएको यो प्रदर्शनीले विश्व अटो बजारमा अहिलेसम्मकै ठूलो र भव्य आयोजनाको नयाँ कीर्तिमान रचेको छ।

यस वर्षको अटो शोमा दर्शकहरूको उपस्थिति लोभलाग्दो रह्यो। आयोजकका अनुसार १० दिनको अवधिमा कुल १२ लाख ८० हजार (१.२८ मिलियन) पटक प्रदर्शनी अवलोकन गरिएको छ। यसमध्ये करिब ६५ हजार वैदेशिक पाहुनाहरू रहेका थिए, जसले चिनियाँ अटो बजारप्रति विश्वको बढ्दो रूचीलाई स्पष्ट झल्काएकाे थियाे।

उक्त अटाे शाेमा कुल १ हजार ४ सय ५१ वटा सवारी साधनहरू प्रदर्शनमा राखिएकाे थिए भने १८१ वटा नयाँ मोडलका गाडीहरू विश्वमै पहिलो पटक सार्वजनिक गरिए। भविष्यको कल्पना गरिएका ७१ वटा ‘कन्सेप्ट कार’ हरूले दर्शकलाई आकर्षित गरे।

यस पटकको मुख्य आकर्षण ‘न्यू इनर्जी भेहिकल’ (नेभ्स) अर्थात् विद्युतीय र हाइब्रिड गाडीहरू रहेका थिए। सन् २०२५ मा मात्रै चीनले १६ मिलियनभन्दा बढी न्यू इनर्जी भेहिकल उत्पादन र बिक्री गरेर आन्तरिक बजारको ५० प्रतिशत हिस्सा ओगटिसकेको पृष्ठभूमिमा, यो मेलामा पनि विद्युतीय गाडीहरूमै विदेशी लगानीकर्ताको विशेष ध्यान केन्द्रित देखियो।

मेलामा परम्परागत गाडीहरू मात्र नभई भविष्यको यातायातको स्वरूप समेत देखाइएको थियो। अत्यन्तै साधारण क्याबिन भएका फुर्सदिला कारहरू, साइबर-स्टाइलका कडा ‘पिकअप’ हरू र विद्युतीय ‘रोटरक्राफ्ट’ (उड्ने यान) हरूले दर्शकलाई अचम्ममा पारेका थिए। यसले मानिसको भविष्यको यात्रा अब सडकमा मात्र सीमित नभई आकाशसम्म पुग्ने संकेत गरेको छ।

अटो चाइना २०२६ ले विश्व अटोमोबाइल उद्योग अब पूर्ण रूपमा विद्युतीकरण (इलेक्ट्रिफिकेशन) र आर्टिफिसियल इन्टेलिजेन्स (आएई) तर्फ मोडिएको सन्देश दिएको छ। चिनियाँ प्रविधि र उत्पादन क्षमताले विश्व बजारलाई नेतृत्व गर्ने दिशामा यो मेला एक महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ।


प्रतिक्रिया दिनुहोस्