प्रिमियम फिचरसहित सोमबारदेखि नेपाली सडकमा देखिनेछ ‘एमजी एस ६’ ईभी, कस्तो छ त यो नयाँ मोडल ?
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियता बढिरहेका बेला प्रतिष्ठित अटोमोबाइल ब्रान्ड एमजीले आफ्नो नयाँ मिड-साइज इलेक्ट्रिक एसयूभी ‘एमजी एस ६’ नेपाली बजारमा भित्र्याएको छ।
नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले आगामी सोमबार (वैशाख २८ गते) एक विशेष कार्यक्रमका बीच यो अत्याधुनिक गाडी सार्वजनिक गर्ने तयारी गरेको हो।
गत वर्ष बजारमा आएको एमजी एस ५ को सफलतापछि कम्पनीले अझ बढी पावर, ठूलो साइज र आधुनिक प्रविधिले सुसज्जित यो नयाँ मोडल ल्याउन लागेको हो।
विशेषगरी प्रिमियम फिचर र लामो दूरीको यात्रा तय गर्न चाहने परिवारहरूलाई लक्षित गरी निर्माण गरिएको यो एसयूभीले नेपाली इलेक्ट्रिक बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
सोमबारको औपचारिक सार्वजनिक लगत्तै नेपालभर रहेका एमजीका १४ वटा शोरुमहरूबाट यसको बुकिङ र बिक्री वितरण सुरु हुनेछ। आधुनिक डिजाइन र उत्कृष्ट रेन्जका कारण यो गाडी नेपाली ग्राहकका लागि एउटा भरपर्दो र आकर्षक विकल्प बन्न सक्छ।
प्राविधिक पक्षलाई हेर्ने हो भने एमजी एस ६ निकै शक्तिशाली छ। यसमा १८० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ठूलो ब्याट्री प्याक जडान गरिएको छ। यसले एक पटकको फुल चार्जमा ५२९ किलोमिटरसम्मको रेन्ज (डब्लुएलटीपी प्रमाणित) प्रदान गर्ने क्षमता राख्छ।
यसमा रहेको रियर ह्विल ड्राइभले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ, जसले गर्दा पहाडी बाटोहरूमा पनि यसको प्रदर्शन उत्कृष्ट रहनेछ। साथै, १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले यो गाडीलाई छिटो चार्ज गरेर लामो यात्रामा निस्कन सहज हुनेछ।
४ हजार ७०८ एमएम लम्बाइ र २ हजार ८३५ एमएम ह्विलबेस भएको यो एसयूभी विश्व बजारमा टेस्ला मोडल वाईको प्रतिस्पर्धी मानिन्छ।नेपालको सडक सुहाउँदो यसको ग्राउन्ड क्लियरेन्स करिब १९० एमएम रहेको छ। यो गाडी एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित छ, जसमा एमजीको चर्चित ‘साइबरस्टर रोडस्टर’ बाट प्रेरित एंगुलर हेडल्याम्प र आकर्षक फासिया प्रयोग गरिएको छ।
गाडीको बाहिरी बनावट जति तीखो र आक्रामक छ, भित्री भाग त्यति नै आरामदायी र विलासी छ। भित्री भागमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र ११ वटा स्पिकरको अडियो सिस्टम जडान गरिएको छ।
व्यावहारिकता र सुरक्षालाई पनि कम्पनीले उत्तिकै प्राथमिकता दिएको छ। यसमा ६७४ लिटरको ठूलो बुट स्पेस छ, जसलाई पछाडिका सिटहरू फोल्ड गरेर १,९१० लिटरसम्म बढाउन सकिन्छ।
सुरक्षाका दृष्टिले यो गाडीले प्रतिष्ठित ५ स्टार ‘युरो एनकायप’ रेटिङ प्राप्त गरेको छ। प्यानोरामिक सनरुफ, वायरलेस चार्जिङ र इन-बिल्ट युट्युब स्ट्रिमिङ जस्ता फिचरले यसलाई थप आधुनिक बनाएको छ।
नेपाली बजारमा उपलब्ध यसका मुख्य प्रतिस्पर्धीहरू बीवाईडी सिलियन ७, दिपल एस ०७ र लिपमोटर सी १० को मूल्य ६५ देखि ८० लाख रुपैयाँको हाराहारीमा छ। एमजीले यसलाई निकै आक्रामक मूल्यमा ल्याउने तयारी गरिरहेकाले यसको सुरुवाती मूल्य ६५ लाख रुपैयाँको आसपास हुन सक्ने अनुमान गरिएको छ।













