कस्ताे छ छिट्टै नेपाल भित्रिँन लागेकाे हुन्डाईको ७-सिटर इलेक्ट्रिक एसयुभी 'आयोनिक ९' ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कस्ताे छ छिट्टै नेपाल भित्रिँन लागेकाे हुन्डाईको ७-सिटर इलेक्ट्रिक एसयुभी ‘आयोनिक ९’ ?



काठमाडौं। हुन्डाईको बहुप्रतीक्षित र सबैभन्दा विलासी इलेक्ट्रिक एसयुभी, आयोनिक ९ अब छिट्टै नेपाली सडकमा देखिने भएको छ।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यस फ्ल्यागशिप मोडेल नेपाल भित्र्याउने तयारी गरिरहेको छ। ठूला परिवार र लामो दूरीको यात्रालाई ध्यानमा राखेर बनाइएको यो गाडीले नेपालको प्रिमियम ईभी बजारमा नयाँ तरंग ल्याउने निश्चित देखिएको छ।

आयोनिक ९ को डिजाइन अन्य एसयुभीको तुलनामा निकै भिन्न र भविष्यमुखी छ। यसलाई हुन्डाईले ‘एरोएस्थेटिक’ नाम दिएको छ, जसको अर्थ यो हावाको अवरोध कम गरी रेन्ज बढाउने गरी बनाइएको छ। गाडीको अगाडि र पछाडि हुन्डाईको सिग्नेचर ‘प्यारामेट्रिक पिक्सेल’ लाइटहरू र अपराइट टेलगेट सहितको गोलाकार फ्रन्ट एन्ड फिचर दिइएको छ। सो नयाँ एसयुभीको लम्बाई ५०६० एमएम, चौडाई १९८० एमएम र उचाई १७९० एमएम रहेको छ। यसको ह्विलबेस ३,१३० एमएम रहेको छ, जसले गर्दा गाडी भित्र निकै फराकिलो ठाउँ उपलब्ध छ।

यो गाडीमा ११०.३ किलाेवाट/आवरको ठूलो ब्याट्री प्याक जडान गरिएको छ। हुन्डाईको ई–जिएमपी प्लेटफर्ममा आधारित यो एसयुभी लङ रेन्ज र पर्फमेन्स गरी कुल दुई ट्रिममा उपलब्ध हुनेछ। एक पटकको फुल चार्जमा यसले ६२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ, जुन नेपालका लामा दुरीका यात्राका लागि अत्यन्तै उपयुक्त हुनेछ। यसमा ३५० किलोवाटसम्मको अल्ट्रा-फास्ट चार्जिङ सपोर्ट छ, जसले गर्दा मात्र २४ मिनेटमा ब्याट्री १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यस एसयुभीलाई २०० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिनेछ।

आयोनिक ९ को मुख्य आकर्षण यसको भित्री भाग र स्पेस हो। ६२० लिटर बुट स्पेस भएको यस गाडीको तेस्रो रोमा राखिएको सिटलाई पुरै फोल्ड गर्दा सामान राख्ने ठाउँ १३२३ लिटरसम्म पुर्याउन सकिन्छ। साथै यसको रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ भेरिएन्टमा क्रमशः ८८ लिटर र ५२ लिटरको ‘फ्रङ्क’ (अगाडिको डिक्की) समेत पाउन सकिन्छ।

सेभेन सीटर कन्फिगरेसनमा उपलब्ध आयोनिक ९ को अगाडिको दुई रोमा बस्ने यात्रुले मसाज सुविधा समेत पाउनेछन्। यसको दोस्रो रोमा १८० डिग्रीसम्म घुम्ने ‘स्विभल सिट्स’ राखिएकाले यात्रुलाई तेस्रो रोमा जान सजिलो हुनुका साथै आपसमा कुराकानी गर्न सहज हुनेछ। यसमा प्यानोरामिक सनरुफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा इन्फोटेनमेन्टका लागि दुईवटा १२.३ इन्चको स्क्रिन, मल्टि जोन क्लाइमेट कन्ट्रोल र रूफ माउन्टेड एयर भेन्ट्स दिइएको छ। साथै, तीनवटै रोमा १०० वाट पावरको युएसवी सी पोर्ट र १४ स्पिकर सहितको बोस साउन्ड सिस्टम समावेश गरिएको छ।

हुन्डाईले यस आयोनिक ९ लाई केही समयअघि मात्रै लस एन्जलस अटो शोमार्फत विश्वव्यापी रूपमा लन्च गरेको थियो। विश्व बजारमा सार्वजनिक भएको छोटो समयमै यसलाई नेपाल ल्याउने प्रक्रिया सुरु हुनुले नेपाली ग्राहकहरूमा उत्साह थपेको छ।

नेपालमा यसको मूल्य करिब रु. १ करोड ९० लाखदेखि रु. २ करोड ३० लाख सम्म पर्न सक्ने अनुमान गरिएको छ। यो गाडी १६ वटा कलर अप्सनमा उपलब्ध हुनेछ, जसमा सेलेस्टियल ब्लु, इयोन सिल्भर, र एबिस ब्ल्याक जस्ता प्रिमियम रङहरू र १९ देखि २२ इन्चसम्मका एलोई ह्विलको विकल्प पाइनेछ।

सुरक्षाका लागि यसमा १० वटा एयरब्याग र हुन्डाईको अत्याधुनिक एडास प्रविधि जडान गरिएको छ। साथै, यसमा रहेको भी २ एल (भेइकल-टु-लोड) प्रविधिले गाडीको ब्याट्रीबाटै अन्य विद्युतीय उपकरणहरू चलाउन मिल्ने सुविधा दिन्छ। यदि तपाईं एक विलासी, सुरक्षित र लामो रेन्ज दिने इलेक्ट्रिक एसयुभीको पर्खाइमा हुनुहुन्छ भने, आयोनिक ९ अबको केही समयमै नेपालमा उपलब्ध हुनेछ।


प्रतिक्रिया दिनुहोस्