नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यका लागि ५ जनाको नाम सार्वजनिक - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यका लागि ५ जनाको नाम सार्वजनिक



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदमा खुला प्रतिस्पर्धाबाट छनोट भएका ५ जना उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।

मन्त्रालयले २०८३ वैशाख ३१ गते मन्त्रीस्तरीय निर्णय गर्दै नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको सूची जारी गरेको हो।

नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम रिक्त पदका लागि गत वैशाख १२ गते गोरखापत्रमा सार्वजनिक सूचना आह्वान गरिएको थियो। आवेदन दिएका कुल २७ जना उम्मेदवारहरूमध्ये शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेपछि छनोट समितिले यी नामहरू सिफारिस गरेको हो।

मन्त्रालयले सार्वजनिक गरेको नामावलीमा डा. दिपक प्रसाद बास्तोला (कास्की), प्रविन भट्टराई (चितवन), महेश्वर भक्त श्रेष्ठ (ललितपुर), रुपा लामिछाने (काठमाडौँ) र लिलाराज ढकाल (स्याङ्जा) रहेका छन्। यी उम्मेदवारहरूलाई वर्णानुक्रम अनुसार सूचीकृत गरिएको छ।

छनोट सूचीमा रहेका उम्मेदवारहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नियुक्ति लिनका लागि मन्त्रालयमा उपस्थित हुन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्