बजेट अगावै नेपाल भित्रिँदै ओमोडाको नयाँ ई-फाइभ, यस्ता छन् विशेषता र मूल्य - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बजेट अगावै नेपाल भित्रिँदै ओमोडाको नयाँ ई-फाइभ, यस्ता छन् विशेषता र मूल्य



काठमाडाैं । नेपालमा अत्यधिक रुचाइएको ओमोडा ई-फाइभ को नयाँ संस्करण नेपाली बजारमा भित्रिने तयारी अन्तिम चरणमा पुगेको छ। नेपालको विद्युतीय सवारी (ईभी) बजारमा छोटो समयमै बलियो पहिचान बनाउन सफल भएकाे छ।

ओमोडाको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स ले आगामी एक महिनाभित्रै यसको नयाँ ‘फेसलिफ्ट’ भेरियन्ट सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको छ।

सरकारले आगामी जेठ १५ गते सार्वजनिक गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमा हुन सक्ने कर परिवर्तनलाई मध्यनजर गर्दै कम्पनीले जेठको पहिलो साताभित्रै यो गाडी सार्वजनिक गर्ने लक्ष्य राखेको छ।

यसअघि नेपाली बजारमा ६१ किलोवाट आवरको ब्याट्री क्षमतामा मात्र उपलब्ध ओमोडा ई-फाइभ अब ५०.६ किलोवाट आवरको ब्याट्री प्याकमा समेत उपलब्ध हुनेछ। यो नयाँ भेरियन्टमा लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सुरक्षा र टिकाउपनका हिसाबले उत्कृष्ट मानिन्छ। यसले एक पटकको पूर्ण चार्जमा ३०० देखि ३५० किलोमिटर सम्मको रेन्ज (डब्लुएलटीपी) दिने कम्पनीको दाबी छ।

नयाँ ओमोडा ई-फाइभमा बाहिरी र भित्री दुवै बनोटमा महत्वपूर्ण परिवर्तनहरू गरिएका छन्। बाहिरी भागमा नयाँ डिजाइनको ‘एक्स-सेप’ फ्रन्ट ग्रिल, सार्प एलईडी हेडल्याम्प र परिमार्जित बम्परले यसलाई थप स्पोर्टी र आधुनिक देखाएको छ। गाडीको भित्री भाग (इन्टेरियर) मा २१.५ इन्चको विशाल कर्भ्ड डिजिटल स्क्रिन दिइएको छ, जसले इन्फोटेनमेन्ट र ड्राइभर डिस्प्ले दुवैको काम गर्छ। साथै, तीव्र गतिको कार्यक्षमताका लागि यसमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपसेट प्रयोग गरिएको छ।

सुरक्षाका दृष्टिकोणले यो गाडी निकै अगाडि छ। यसमा १६ वटा भन्दा बढी फिचर भएको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जडान गरिएको छ। जसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, र अगाडि तथा पछाडिको ठक्करबाट जोगाउने सेन्सरहरू समावेश छन्। नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै यसको ग्राउन्ड क्लियरेन्स समेत निकै उपयुक्त बनाइएको छ।

५०.६ किलोवाट आवरको सानो ब्याट्री प्याकमा आउने भएकाले यसको मूल्य अघिल्लो मोडलको तुलनामा केही कम हुने अपेक्षा गरिएको छ। बजारमा यसको मूल्य ५० लाख देखि ५५ लाख रुपैयाँ को बीचमा रहने अनुमान छ। ग्राहकले यसलाई क्लाउड ह्वाइट, मार्टियन ब्ल्याक, प्यान्थम ग्रे, टाइटन ब्लु र एक्स्ट्रा स्टेलर सिल्भर जस्ता आकर्षक रङहरूमा पाउने सक्नेछन्।

ओमोडाले नेपालमा आफ्नो सेवालाई थप विश्वसनीय बनाउन ११ वर्ष वा १० लाख किलोमिटर सम्मको वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ। यो नयाँ भेरियन्टमा पनि सोही सुविधा लागू हुनेछ। नयाँ बजेट अगावै सार्वजनिक हुन लागेको यो गाडीले नेपालमा एमजी ४ र बिवाइडी एट्टो ३ (स्मार्ट) जस्ता प्रतिस्पर्धी गाडीहरूलाई कडा टक्कर दिने अटो विज्ञहरूको विश्लेषण छ।


प्रतिक्रिया दिनुहोस्