ईभी टुह्विलर किन्न ६ महिनासम्मको वेटीङ लिस्ट, सोरुममा छैन गाडी ! - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ईभी टुह्विलर किन्न ६ महिनासम्मको वेटीङ लिस्ट, सोरुममा छैन गाडी !



काठमाडौँ । यतिबेला विश्व अर्थतन्त्र र ऊर्जा बजारमा एउटा गम्भीर पराकम्पन महसुस भइरहेको छ । विशेषगरी मध्यपूर्वमा बढेको तनाव र ’स्ट्रेथ अफ हर्मुज’ मा उत्पन्न संकटले विश्वव्यापी इन्धन आपूर्ति प्रणालीलाई नै क्षतविक्षत बनाइदिएको छ ।

करिब २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने यो सामरिक जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएको मात्र छैन, नेपाल जस्ता आयातमा निर्भर देशका लागि यो ठूलो टाउको दुखाइको विषय बनेको छ ।

नेपालमा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा जुन किसिमको भारी वृद्धि भयो । त्यसले उपभोक्ताको भान्छादेखि सवारी साधनसम्मको बजेटलाई नराम्ररी बिथोलेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा पटक–पटक वृद्धि गरेपछि काठमाडौँका सडकमा गुड्ने सवारी धनीहरूको मनोविज्ञानमा ठूलो परिवर्तन देखिएको छ । इन्धनको मूल्य वृद्धिसँगै अहिले उपभोक्ताको भिड पेट्रोल पम्पबाट सोझै विद्युतीय सवारी (इभी) का सोरुमतिर मोडिएको छ ।

यही बदलिँदो परिवेश र बजारको वास्तविक अवस्था बुझ्न अर्थपथ डटकमको टोली काठमाडौँ उपत्यकाका विभिन्न इभी टुह्विलर सोरुमहरूमा पुगेको थियो । तर, बजारको दृश्य अपेक्षा गरेभन्दा भिन्न र अलि डरलाग्दो देखियो । ग्राहकहरू इभी स्कुटर किन्न पैसा बोकेर सोरुम पुग्छन्, तर त्यहाँ उनीहरूले सुन्नुपर्ने एउटै जवाफ छ— “अहिले गाडी स्टकमा छैन, कम्तीमा छ महिना कुर्नुपर्छ” ।
सोरुम भ्रमणका क्रममा देखिएको सबैभन्दा रोचक तर दुखद पक्ष के थियो भने, धेरैजसो नाम चलेका ब्राण्डका डिलरहरूले आधिकारिक रूपमा क्यामरा अगाडि बोल्न नै मानेनन् । अनौपचारिक कुराकानीमा उनीहरू स्वीकार गर्छन् कि माग यति म्यासिभ छ कि उनीहरूले आपूर्ति धान्न नै सकेका छैनन् ।

कतिपय सोरुमले त “हामीसँग देखाउनलाई एउटा स्कुटर पनि छैन, भिडियो खिचेर के गर्नु ? झन् ग्राहक आएर तनाव मात्रै हुन्छ” भन्दै सूचना दिन समेत हिचकिचाए । उनीहरूलाई डर छ कि ६ महिनासम्म पनि गाडी दिन नसक्ने अवस्था सार्वजनिक हुँदा ब्राण्डको छविमा नकारात्मक असर पर्न सक्छ ।

नक्सालस्थित टेलजी नेपालका निर्देशक सञ्जीव शिल्पकारका अनुसार पछिल्लो दुई–तीन महिनामा विद्युतीय दुई पाङ्ग्रे सवारीको मागमा अकल्पनीय वृद्धि भएको छ । उनले आफ्नो ब्राण्डले मात्रै पछिल्लो तीन महिनामा करिब दुई हजारभन्दा बढी स्कुटर बिक्री गरेको तथ्यांक सुनाए ।

हर्मुज संकट र इन्धनको मूल्य वृद्धिका कारण मानिसहरूले अब नेपालमै उत्पादन हुने बिजुली प्रयोग गर्नु नै बुद्धिमानी हुने महसुस गर्न थालेका छन् । तर, माग र आपूर्तिको यो असन्तुलनले बजारमा ’वेटिङ लिस्ट’ लामो बनाउँदै लगेको छ ।

त्यस्तै, गैरीधारास्थित सुपर शोकोको सोरुममा पुग्दा त्यहाँका सेल्स अफिसर कनक बज्राचार्यले पनि बाइकका केही मोडलहरू अहिले ’आउट अफ स्टक’ रहेको जानकारी दिए । विशेषगरी इन्धनको मूल्य बढ्ने लहर चलेसँगै सोधपुछ र बुकिङ गर्नेहरूको संख्या १० देखि १५ प्रतिशतले बढेको उनको अनुभव छ । पहिले दिनमा दुई–चार जना आउने सोरुममा अहिले भिड थामिनसक्नु छ ।

एकातिर नेपालले विश्वमै इभी अपनाउने देशहरूको सूचीमा दोस्रो स्थान बनाएको गर्विलो तथ्यांक छ । जहाँ नयाँ कार बिक्रीमा ७३ प्रतिशत हिस्सा इभीकै छ । अर्कोतिर, स्कुटर किन्न खोज्ने सामान्य नागरिकले ६ महिनासम्म कुर्नुपर्ने बाध्यता छ ।

फर्मास्युटिकल कम्पनीमा कार्यरत मार्मिक पौडेल जस्ता धेरै उपभोक्ताहरू अहिले पेट्रोल गाडीको बढ्दो सञ्चालन खर्च धान्न नसकेर इभीमा शिफ्ट हुन खोज्दैछन् । उनी भन्छन्, “पहिले २५०० को तेलले पुग्ने ठाउँमा अहिले ६००० खर्च हुन्छ, यस्तो अवस्थामा इभी बाहेक विकल्पै के छ र ?” । तर, उनी जस्ता उपभोक्ता सोरुम पुग्दा रित्तो हात फर्किनुपर्ने अवस्थाले बजारमा एक किसिमको निराशा पनि पैदा गरेको छ ।

हर्मुजको तनावले सिर्जना गरेको यो ऊर्जा संकटले नेपाललाई एउटा ठूलो अवसर त दिएको छ । तर त्यसलाई क्यास गर्न हाम्रो बजार तयार देखिएन । व्यापारीहरूले गाडी मगाउन नसक्नु, आयातमा देखिएका व्यवधान र सरकारी नीतिमा हुने फेरबदलको पर्खाइले गर्दा अहिले उपभोक्ता मारमा परेका छन् ।

यदि सरकार र निजी क्षेत्रले यो आपूर्ति अवरोधलाई चाँडै समाधान नगर्ने हो भने, पेट्रोलियम पदार्थप्रतिको परनिर्भरता हटाउने हाम्रो राष्ट्रिय लक्ष्य केबल ’वेटिङ लिस्ट’ मा मात्रै सीमित हुने जोखिम देखिन्छ । सोरुममा गाडी नहुनु र ग्राहकले आधा वर्ष कुर्नुपर्ने अवस्था आउनु नेपालको इभी क्रान्तिका लागि शुभ संकेत पक्कै होइन ।


प्रतिक्रिया दिनुहोस्