साताभर शेयर बजारमा छैन उत्साह : १८ अर्बको कारोबार, नेप्से १३ अंकले झर्यो
काठमाडौं । नेपाली शेयर बजारका लागि यो साता निकै रोचक र केही हदसम्म संशयपूर्ण रह्यो । साताको पहिलो दिन उच्च उत्साहका साथ खुलेको बजारले लगानीकर्तालाई आशावादी बनाए पनि बाँकी दिनहरूमा बजारको गति केही सुस्त देखियो ।
समग्रमा यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो गिरावट देखिएको छ । जसले बजारमा ’पर्ख र हेर’को रणनीति हाबी भएको प्रष्ट पार्छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २७४५.६५ विन्दुमा बन्द भएको नेप्से यो साताको शुक्रबारसम्म आइपुग्दा १३.७१ अंकले घटेर २७३१.९४ विन्दुमा ओर्लिएको छ । यद्यपि, साताको औसत गिरावट भने २.७४२ अंक हाराहारीमा रहेको छ ।
यो पाँच दिने कारोबार अवधिमा बजारमा कुल १८ अर्ब ४७ करोड ४२ लाख २८ हजार ७८१ रुपैयाँ ८२ पैसा बराबरको विशाल कारोबार भएको छ । यसले बजारमा तरलता र लगानीकर्ताको उपस्थिति अझै बलियो रहेको संकेत गर्छ । औसत दैनिक कारोबार ३ अर्ब ६९ करोड ४८ लाख ४५ हजार ७५६ रुपैयाँ हुनुले बजार घटे पनि लगानीकर्ताहरूले ठूलो मात्रामा शेयर किनबेच गरिरहेको देखाउँछ ।
सोमबारको उत्साहदेखि शुक्रबारको झिनो सुधारसम्म
यो साताको बजार यात्रालाई नजिकबाट नियाल्दा सोमबार निकै सुखद रह्यो । साताको पहिलो दिन नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुग्यो । सो दिन ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँ ८३ पैसाको कारोबार भएको थियो भने ३३२ कम्पनीका १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर किनबेच भएका थिए । सोमबारको त्यो चमकले बजारले २८०० को मनोवैज्ञानिक विन्दुलाई सहजै पार गर्ने अनुमान गरिएको थियो ।
तर, मंगलबार देखि बजारको चित्र बदलियो । सो दिन बजारमा तीव्र ‘प्रफिट बुकिङ’ देखियो, जसका कारण परिसूचक ३९.४४ अंकले घट्दै २७४४.४० विन्दुमा ओर्लियो । रोचक कुरा त के छ भने, बजार घटेको दिन कारोबार रकम भने साताकै उच्च ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँ ७४ पैसा पुग्यो । यसले ठूला लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न खोजेको प्रष्ट पार्छ ।
बुधबार र बिहीबार बजारले थप ओरालो यात्रा तय गर्यो । बुधबार परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा कायम भयो । सो दिन कारोबार रकममा पनि संकुचन आयो र २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँ ५३ पैसामा सीमित भयो । बिहीबार पुन: १०.०७ अंकको गिरावटसँगै नेप्से २७३०.१७ विन्दुमा झर्यो । सो दिन ३ अर्ब २९ करोड २४ लाख ४६ हजार ६१९ रुपैयाँ ९४ पैसाको कारोबार भएको थियो ।
साताको अन्तिम दिन शुक्रबार भने बजारमा सामान्य हरियाली देखियो । परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा बन्द भयो । शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँ ७८ पैसाको कारोबार भयो । साताभरिको तथ्यांक हेर्दा कुल ४ करोड २६ लाख ५४ हजार ४६६ कित्ता शेयर २ लाख ६३ हजार २०८ पटकको कारोबारमार्फत हातबदल भएका छन् । साताभर औसतमा ३३७ वटा कम्पनीको कारोबार हुनुले बजारमा विविधीकरण कायमै रहेको पुष्टि गर्छ ।
अबको बाटो कता ?
प्राविधिक पक्षबाट हेर्दा नेप्से अहिले एक महत्वपूर्ण ‘कन्सोलिडेसन’ चरणमा रहेको देखिन्छ । २७०० देखि २७५० को यो क्षेत्र अहिले बजारका लागि बलियो टेवा र अवरोध को दोसाँध बनेको छ । साताभरिमा परिसूचकले उच्च २८०२.८४ र न्यून २७१७.४५ को विन्दु छोएको छ । २८०० को विन्दुमा पुग्ने बित्तिकै बिक्री चाप बढ्नुले बजार तत्कालै ठूलो उचाइ लिन अझै केही नयाँ सकारात्मक समाचार वा मौद्रिक सहजताको पर्खाइमा रहेको संकेत गर्छ ।
बजार २.७४२ अंकले घटेको देखिए पनि (साप्ताहिक क्लोजिङका आधारमा १३.७१ अंक) यसलाई ठूलो गिरावट मान्न सकिँदैन । यो केवल बढेको बजारमा हुने स्वभाविक करेक्सन हो । प्राविधिक सूचकहरूले बजार अझै पनि ’बुलिस ट्रेन्ड’ भित्रै रहेको देखाउँछन्, तर खरिदकर्ताहरूमा केही सावधानी देखिएको छ ।
१८ अर्बभन्दा बढीको साप्ताहिक कारोबारले बजारमा ’डेप्थ’ रहेको देखाउँछ । जबसम्म कारोबार रकमले साथ दिन्छ । तबसम्म परिसूचकमा आउने सानातिना गिरावटले बजारको दीर्घकालीन लयलाई बिगार्दैन । आगामी साता यदि नेप्सेले २७५० को विन्दुलाई बलियो आधार बनाएर माथि लागेमा पुन: २८०० को यात्रा तय गर्ने निश्चित छ ।
तर, २७०० को विन्दुभन्दा तल ओर्लिएमा लगानीकर्ताहरूले थप सजगता अपनाउनुपर्ने देखिन्छ । अहिलेको अवस्थामा बजारले स्पष्ट दिशा समात्न नसकेको हुँदा ’भ्यालु इन्भेस्टिङ’ नै बुद्धिमानी हुने देखिन्छ ।
















