अर्थमन्त्रीले भने- ५० लाखसम्मका विद्युतीय गाडीको मूल्य घट्छ, विलासी इभीमा मात्र कर बढाइएको हो
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत ५० लाख रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारीसाधन (इभी) को मूल्य थप घट्ने दाबी गरेका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले मध्यम वर्गीय नागरिकले चढ्ने गाडीमा कर नलगाइएको र विलासी गाडीमा मात्रै कर बढाइएको स्पष्ट पारे।
केही वर्षअघिसम्म नेपालमा विद्युतीय गाडीको पहुँच र प्रयोग (पेनेट्रेसन) बढाउन सरकारले धेरै छुट दिएको स्मरण गर्दै उनले अहिले बजारको आवश्यकता र परिपक्वता अनुसार करको दर समायोजन गरिएको बताए।
‘अहिले १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलासिता हो, यो कुरा सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘प्रधानमन्त्री बालेन शाहले पनि ५० लाख मुनिका गाडीमा कर नबढाउन स्पष्ट निर्देशन दिनुभएको थियो। ५० लाखभन्दा माथिका विलासी गाडीमा कर बढाउँदा बजारलाई खासै फरक नपर्ने सरकारको आशय हो।’
यसअघि मोटरको क्षमता (किलोवाट) का आधारमा भन्सार दर तोकिँदा व्यवसायीहरूले चलाखीपूर्वक गाडी भित्राउने गरेको र त्यसमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएपछि अटो व्यवसायीहरू तनावमा रहेको उनले उल्लेख गरे।
यसपटक बजेटमार्फत किलोवाटको सट्टा गाडीको खरिद मूल्य (मूल्यको आधार) मा कर निर्धारण गरिएकाले इभी व्यवसायीहरूले समेत राहत महसुस गरेको मन्त्री वाग्लेको दाबी छ।
यसैगरी, विद्युतीय गाडी पर्यावरणका लागि पूर्ण रूपमा स्वच्छ ऊर्जा नभएको टिप्पणी गर्दै उनले भविष्यमा यसको ब्याट्री व्यवस्थापन गर्ने विषय निकै पेचिलो र चुनौतीपूर्ण बन्दै गइरहेकातर्फ सचेत गराए।
















