होन्डाका पुराना मोडेलमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

होन्डाका पुराना मोडेलमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान



काठमाडौं। नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहक सुरक्षालाई प्राथमिकतामा राख्दै पुराना होन्डा कारका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान सञ्चालन गरेको छ।

कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्म उत्पादन भएका केही होन्डा मोडेलका कारमा एयरब्याग प्रणालीमा सम्भावित जोखिम देखिन सक्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो।

रिकल अभियानमा सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड मोडेलका गाडी समावेश छन्। ग्राहकले आफ्नो गाडी रिकल अभियानअन्तर्गत पर्छ वा पर्दैन भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमार्फत पनि जाँच गर्न सक्ने कम्पनीले जनाएको छ।

अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग परीक्षण, आवश्यक मर्मत तथा एयरब्याग इन्फ्लेटर प्रतिस्थापन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकबाट कुनै पनि शुल्क नलिइने कम्पनीले स्पष्ट पारेको छ।

सम्भावित जोखिमबाट बच्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न कम्पनीले सबै प्रभावित गाडीधनीलाई आफ्नो नजिकको होन्डाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी एयरब्याग जाँच गराउन आग्रह गरेको छ।

सर्भिस बुकिङ तथा थप जानकारीका लागि ग्राहकले होन्डाको आधिकारिक सर्भिस सेन्टर वा कम्पनीले उपलब्ध गराएका सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्