इ.मास ५ सार्वजनिकसँगै प्रोटोनको नेटवर्क विस्तार, देशभर चार नयाँ सोरुम र सर्भिस सेन्टर खोल्दै
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ सार्वजनिक गरेसँगै देशभर आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने भएको छ।
कम्पनीले मंगलबार भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधा सम्पन्न नयाँ सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने जनाएको छ। कम्पनीका अनुसार पूर्वाधार र सेवा सुविधाका हिसाबले यो प्रोटोनको नेपालकै उत्कृष्ट सोरुम तथा सर्भिस सेन्टरमध्ये एक हो।
ग्राहकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्जाल विस्तार गरिएको कम्पनीले जनाएको छ। प्रोटोनप्रति ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै देशभर उत्पादन र बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध गराउन नयाँ शाखा सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ।
भक्तपुर शाखासँगै आगामी सातादेखि वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा पनि नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याइने कम्पनीले जानकारी दिएको छ। यससँगै इ.मास ५ सार्वजनिक भएको अवसरमा देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार हुने भएको हो।
यसअघि प्रोटोनले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढीबाट बिक्री तथा सर्भिस सेवा प्रदान गर्दै आएको थियो। नयाँ शाखाहरू सञ्चालनमा आएपछि ग्राहकले देशभरका विभिन्न स्थानबाट सवारी खरिददेखि मर्मतसम्भारसम्मका सेवा सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको विश्वास छ।
जगदम्बा मोटर्सले सन् २०१८ देखि नेपालमा प्रोटोन ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री–वितरण गर्दै आएको छ। मलेसियाको राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि चिनियाँ अटोमोबाइल कम्पनी जिलीसँग रणनीतिक साझेदारी गरेपछि अन्तर्राष्ट्रिय बजार विस्तारलाई तीव्रता दिएको छ।
कम्पनीका अनुसार प्रोटोनको विद्युतीय सवारी ब्रान्ड इ.मास अहिले मलेसियाको अग्रणी ईभी ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ भने नेपालसहित अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।













