७ श्रावण २०८३, बिहिबार

२३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ मा, गोल्छा ग्रुप लगातार १९औँ वर्ष मुख्य प्रायोजक



काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८३ आगामी भदौ १८ गते आयोजना हुने भएको छ। मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवार्ड समारोह नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’मा आयोजना गरिने जानकारी दिएको हो।

यस वर्षको अवार्डका लागि मञ्चले गोल्छा ग्रुप सँग मुख्य प्रायोजनको सम्झौता नवीकरण गरेको छ। सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा ले हस्ताक्षर गरेका छन्। दुवै पक्षबीच गत वर्ष पाँच वर्षका लागि सहकार्य गर्ने सम्झौता भएको थियो, जसको दोस्रो वर्ष चलिरहेको छ। यससँगै गोल्छा ग्रुप लगातार १९औँ वर्ष एनएसजेएफ स्पोर्ट्स अवार्डसँग आबद्ध भएको छ।

सम्झौतापछि बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली खेलकुदको विकासमा योगदान पुर्‍याउने उद्देश्यले संस्थाले लामो समयदेखि मञ्चसँग सहकार्य गर्दै आएको बताए। खेलाडी, प्रशिक्षक तथा खेल क्षेत्रसँग आबद्ध व्यक्तित्वलाई प्रोत्साहन गर्ने अभियानमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यस वर्षको अवार्ड पनि थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित औद्योगिक घरानामध्ये एक गोल्छा ग्रुपसँगको निरन्तर सहकार्यले अवार्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुगेको बताए। उनले दीर्घकालीन साझेदारीका लागि गोल्छा ग्रुपप्रति आभार व्यक्त गरे।

मञ्चका महासचिव अञ्जन खड्का का अनुसार यस वर्ष ९ विधा मा अवार्ड प्रदान गरिनेछ। जसअन्तर्गत वर्षका उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, वर्षका युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड समावेश छन्।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका मनोनयन केही दिनभित्र सार्वजनिक गरिने उनले जानकारी दिए। प्रत्येक विधामा पाँच–पाँच जना मनोनयनमा पर्ने व्यवस्था रहेको छ भने छनोट समितिले आवश्यक प्रक्रिया सुरु गरिसकेको जनाएको छ।

लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट सम्मान तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेताको घोषणा भने अवार्ड समारोहकै दिन गरिनेछ। पिपल्स च्वाइस अवार्डमा सार्वजनिक मतका आधारमा विजेता चयन हुने भएकाले सो विधाको मनोनयन पनि छिट्टै सार्वजनिक गरिने मञ्चले जनाएको छ।

पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य चार विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

अवार्ड समारोहलाई सफल बनाउन अध्यक्ष निरञ्जन अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। कार्यक्रम व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत बनाइएको मञ्चले जनाएको छ।

गत वर्षको अवार्डमा पुरुषतर्फ क्रिकेटर दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटर पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षका उत्कृष्ट घोषित भएका थिए। पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारी ले जितेका थिए।

त्यस्तै स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङ्देम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन तथा लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए।


प्रतिक्रिया दिनुहोस्