पेट्रोलियम पदार्थको आयातबाट एकै वर्षमा १ खर्ब १३ अर्ब बढी राजस्व संकलन
काठमाडौं । नेपालले गत एक वर्षमा ३ खर्बरुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब ३७ अर्ब २९ करोड ६८ लाख रुपैयाँ बराबरको डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन र मट्टितेल आयात गरिएको हो । उक्त आयातबाट कुल १ खर्ब १३ अर्ब ५८ करोड ६ लाख रुपैयाँ बराबरको राजस्व संकलन भएको छ।
भन्सार विभागको वार्षिक तथ्यांक अनुसार गत आवमा आयात परिमाण र मूल्य दुवैका हिसाबले डिजेल पहिलो स्थानमा छ। गत वर्ष १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको १३ लाख ९३ हजार ३३४ किलोलिटर डिजेल आयात गरिएको हो। डिजेल आयातबाट मात्रै सरकारले ५७ अर्ब ७० करोड ३९ लाख ३३ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
डिजेलपछि सबैभन्दा धेरै आयात हुने इन्धन पेट्रोल रहेको छ। गत एक वर्षमा ७७ अर्ब २६ करोड ५० लाख ११ हजार रुपैयाँ बराबरको ७ लाख ५१ हजार ६४२ किलोलिटर पेट्रोल आयात भएको छ। पेट्रोल आयातबाट मात्रै ४० अर्ब ४८ करोड ४१ लाख ४ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।
यसैगरी खाना पकाउन प्रयोग हुने एलपी ग्यासको आयात पनि ठूलो परिमाणमा भएको छ। गत आर्थिक वर्षभर ५२ करोड ५ लाख २५ हजार १९२ केजी एलपी ग्यास ६० अर्ब २८ करोड ६ लाख २४ हजार रुपैयाँमा आयात गरिएको छ। एलपीजीबाट ११ अर्ब २४ करोड २६ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
यस्तै, गत वर्ष २६ अर्ब ६४ करोड ५० लाख ४२ हजार रुपैयाँ बराबरको २ लाख १३ हजार ६४३ किलोलिटर हवाई इन्धन (एटीएफ)को आयात भएको छ। हवाई इन्धनबाट ३ अर्ब ९७ करोड ९ लाख २ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।
मट्टितेलतर्फ ६७ करोड ७४ लाख ४३ हजार रुपैयाँ रुपैँया बराबरको ६ हजार ९२८ किलोलिटर आयात भएको छ। मट्टितेलबाट १७ करोड ९० लाख ६४ हजार रुपैँया बराबरको राजस्व संकलन भएको छ।
नेपालमा खपत हुने अधिकांश पेट्रोलियम पदार्थ भारतबाट आयात हुने गरेको देखिन्छ। यद्यपि, विशेष प्रकारका इन्धन, लुब्रिकेन्ट तथा बेस आयल भने अस्ट्रेलिया, चीन, बहराइन, कतार, सिंगापुर र इटालीलगायत मुलुकबाट पनि आयात हुने गरेको छ।













