११ श्रावण २०८३, सोमबार

नेपालमा स्मार्टफोनको आयात बढ्यो, एकै वर्षमा ४८ अर्ब बढीका फोन भित्रिए



काठमाडौं । नेपालले एक वर्षमा ४८ अर्ब रुपैयाँ बढीका स्मार्टफोन आयात गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरका २२ लाख ६७ हजार ४१९ थान स्मार्टफोन आयात गरिएको भन्सार विभागले जनाएको हो।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा स्मार्टफोन आयात १३ अर्ब १४ करोड ६१ लाख ३५ हजार रुपैयाँले बढेको छ। स्मार्टफोनको आयातमा करिब ३७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आव २०८१/८२ मा भने ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका थिए ।

यसैबीच, गत आवमा स्मार्टफोन आयातबाट मात्रै सरकारले ९ अर्ब ८ करोड २३ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आवमा भने ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।

स्मार्टफोन आयातबाट प्राप्त राजस्व पनि एक वर्षमै २ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ अर्थात् करिब ३७ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

स्मार्टफोनको बढ्दो आयातले नेपालमा डिजिटल उपकरणप्रतिको उपभोक्ता माग निरन्तर विस्तार भइरहेको देखाएको छ। अनलाइन सेवा, डिजिटल भुक्तानी, सामाजिक सञ्जालको प्रयोग तथा प्रविधिमाथिको निर्भरता बढ्दै जाँदा स्मार्टफोन नेपालीहरूको दैनिक आवश्यकताको वस्तु बन्दै गएको हो। यससँगै आयातमा निर्भरता बढिरहँदा स्वदेशी उत्पादनमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।