नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्य गर्दै तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई लक्षित गर्दै प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले २०८३ वैशाख महिनामा जारी गरेको मासिक योजनाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा उक्त कार्यक्रम आयोजना गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८३/८४ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकांकमा उत्कृष्टता हासिल गर्न सफल भएको बताए। उनले कम्पनीको सफलतामा सहयोग गर्ने नियमनकारी निकाय, ग्राहक, अभिकर्ता तथा कम्पनीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबैप्रति धन्यवाद व्यक्त गरे।
उनले नयाँ आर्थिक वर्षको शुभकामना दिँदै ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए। साथै, अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउने दिशामा कम्पनीले विशेष ध्यान दिने उल्लेख गरे।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिष्ठित उपाधि एमडीआरटी (MDRT) को लक्ष्य पूरा गर्न अपनाउनुपर्ने रणनीति तथा गतिविधिबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रमको समापन चरणमा स्ट्यान्डअप कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति, कलाकार रामचन्द्र काफ्ले र जुनु रिजालको सांगीतिक प्रस्तुति रहेको थियो। साथै, चर्चित गायक दीपक बज्राचार्य तथा रिदम ब्याण्डको लाइभ प्रस्तुति र डिजे अमुको प्रस्तुतीमा सहभागी अभिकर्ताहरूले मनोरञ्जन लिएका थिए।













