१३ श्रावण २०८३, बुधबार

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवा उपलब्ध गराउने सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषका तर्फबाट कायममुकायम सहप्रशासक भरतराज बस्तीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ। यसमार्फत कर्मचारीले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवाको लाभ लिन सक्नेछन्।

बैंकले तलब व्यवस्थापन खातासँगै बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा, कार्ड सेवा लगायतका विभिन्न बैंकिङ सुविधा पनि उपलब्ध गराउने जनाएको छ।

माछापुच्छ्रे बैंकले सरकारी कार्यालयहरूको तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई थप गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।