१५ श्रावण २०८३, शुक्रबार

केराको मूल्यमा अस्वाभाविक वृद्धि, तत्काल बजार अनुगमन गर्न माग



काठमाडौँ। केराको मूल्यमा अस्वाभाविक वृद्धि भए पछि उपभोक्ताहरुले तत्काल बजार अनुगमन प्रभावकारी बनाउन माग गरेका छन्। कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

केरा उत्पादक संघ कैलाली र केरा उत्पादक तथा व्यवसायी संघ कञ्चनपुरद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती सस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि रु ६५ सम्ममा बिक्री भइरहेको भए पनि उपभोक्ताले बजारमा सोही केराका लागि अत्यधिक मूल्य तिर्न बाध्य भएकाले नियमनका लागि आग्रह गरेका हुन् ।

संघीय सरकारले भारतबाट केराको बिरुवा तथा फल आयातमा रोक लगाएकोमा संघले धन्यवाद दिँदै अब मूल्यवृद्धि र सम्भावित कालोबजारी नियन्त्रणमा ध्यानदिन जोड दिएको छ। “सरकारको निर्णयले केरा उत्पादन, किसानको हित र राष्ट्रिय कृषि सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास छ । अब बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि रोक्न सम्बन्धित सरकारी निकायलाई प्रभावकारी बजार अनुगमन, कालोबजारी, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धि नियन्त्रण गर्न, किसान र उपभोक्ता दुवैको हित सुरक्षित हुने गरी बजार व्यवस्थापन गर्न आग्रह छ।”, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।

संघले कैलाली र कञ्चनपुरमा बगानबाट बिक्री हुने काँचो केराको सिफारिस मूल्यसमेत सार्वजनिक गरेको छ। त्यसअनुसार भदौदेखि असोज मसान्तसम्म प्रतिदर्जन रु ५५ देखि ६५, कात्तिकदेखि मङ्सिर मसान्तसम्म रु ४५ देखि ५० तथा पुसदेखि माघ मसान्तसम्म रु ३० देखि ३५ निर्धारण अनुरोध गरिएको छ। फागुनदेखि साउनसम्मको मूल्य भने उत्पादन, बजार अवस्था र माग–आपूर्तिको मूल्याङ्कनपछि आगामी संयुक्त बैठकबाट तय गरिने जनाइएको छ ।

कृषि गणना २०६८/६९ अनुसार सुदूरपश्चिम प्रदेशमा करिब दुई हजार चार हेक्टरमा केराखेती हुँदै आएको छ भने वार्षिक करिब ७२ हजार ४४९ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क छ।