ईभीलाई ग्याजेटाइज गर्ने चीनकाे त्याे रणनीतिः विश्वले गाडीलाई हेर्ने दृष्टिकोण एक दशक मै कसरी बदलियाे ?
काठमाडौं । हिजो जसको प्रविधिलाई हेरेर विश्वका अटो सम्राटहरू मज्जाले हाँस्थे, आज तिनैको साम्राज्य अगाडि सारा संसार घुँडा टेक्न बाध्य भएको छ। चीनले विश्व अटोमोबाइल उद्योगको जग नै यसरी हल्लाइदिएको छ कि अब कार गुड्ने साधन मात्र रहेन, पाङ्ग्रा भएको एउटा आधुनिक ग्याजेट बन्न पुगेको छ।
कुनै समय बजारमा स्मार्टफोनको कुरा गर्दा एप्पल र सामसङको मात्रै एकलौटी दबदबा हुन्थ्यो। तर, जब चीनले एकैपटमा आफ्ना सयौँ मोडल र ५० औँ नयाँ ब्राण्डहरू लिएर बजारमा प्रवेश गर्यो, तब स्मार्टफोनको परिभाषा नै बदलिदियो।
चीनले प्रविधिलाई आम मानिसको पहुँचमा पुर्यायो र आवश्यकता अनुसारको मूल्यमा आधुनिक फिचर्स उपलब्ध गरायो। परिणामस्वरूप मोबाइल फोन केवल सञ्चारको साधन रहेन, हरेक वर्ष परिवर्तन गरिने ग्याजेट बन्यो। ठ्याक्कै यही व्यावसायिक रणनीति अहिले चीनले विद्युतीय सवारी बजारमा लागू गरेको छ।
सुरुका दिनहरूमा मध्यमवर्गीय परिवारका लागि गाडी किन्नु एउटा ठूलो सपना मात्र हुन्थ्यो। मानिसहरू जीवनभरमा एउटा वा बढीमा दुईवटा गाडी किन्ने सोच राख्थे र एकपटक किनेपछि कम्तीमा एक दशक चलाउने सोच हुन्थ्यो।
तर, चीनको यो नीतिका कारण अहिले मानिसहरूले मोबाइल वा आइफोनको मोडल फेरेजस्तै गरी कारको मोडल पनि फटाफट परिवर्तन गर्न थालेका छन्। कम बजेट हुनेहरूका लागि पनि चीनले सुलभ मूल्यमा अत्याधुनिक फिचर्ससहितका गाडीहरू उपलब्ध गराएर कार चढ्ने सपनालाई यथार्थमा बदलिदिएको छ।
मस्कको त्यो उपहास र बिवाई डीको विश्व साम्राज्य
यो शिलशिला बुझ्न हामी सन् २०११ तिर फर्किनै पर्छ। अमेरिकी टेलिभिजन ब्लुमबर्गको एउटा अन्तर्वार्तामा पत्रकारले टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कलाई एउटा प्रश्न सोध्छन्, ‘चीनको बीवाईडी तपाईंको प्रतिस्पर्धी हो?’ मस्क केही सेकेन्ड मुस्कुराउँछन्, त्यसपछि ठूलो स्वरमा हाँस्छन् र जवाफ दिन्छन् ‘के तपाईंले उनीहरूको गाडी देख्नुभएको छ?’ अन्तर्वार्ताकारकै अगाडि बिवाइडीको उपहास गर्दै मस्कले थप्छन्, ‘मलाई लाग्दैन उनीहरूसँग राम्रो प्रविधि छ।’
त्यतिबेला बीवाईडी विश्व बजारमा लगभग अपरिचित थियो र त्यो भिडियो आज पनि युट्युबमा सजिलै भेटिन्छ। तर इतिहासमा केही दृश्य यस्ता हुन्छन्, जसले समयसँगै अर्थ बदलिदिन्छन्।
आज त्यो अन्तर्वार्ता हेर्दा धेरैले मस्कलाई होइन, चीनलाई देख्छन्। किनकि त्यसको करिब डेढ दशकपछि अवस्था यसरी बदलियो कि सन् २०२३ मा तिनै मस्कले जिस्काएको बिवाइडीले टेस्लालाई समेत पछि पार्दै विश्वकै सबैभन्दा बढी विद्युतीय गाडी बिक्री गर्ने कम्पनीको कीर्तिमान रच्यो।
आज बीवाईडी संसारकै ठूलो विद्युतीय सवारी निर्माता बनेको छ भने चीन विश्वकै सबैभन्दा बढी विद्युतीय सवारी निर्यातकर्ता राष्ट्र बनेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, अहिले विश्व बजारमा बिक्री हुने प्रत्येक १० विद्युतीय गाडीमध्ये ६ वटा चिनियाँ ब्राण्डका हुन्छन् र विश्वभर गुड्ने कुल विद्युतीय सवारीको झण्डै तीन-चौथाई हिस्सा चीनमै उत्पादन हुन्छ।
विश्वले एक शताब्दीदेखि गाडीलाई हेर्ने दृष्टिकोण चीनले एक दशक मै बदलिदिएको छ। परम्परागत अटो कम्पनीहरूले गाडीलाई एउटा यान्त्रिक उत्पादनका रूपमा विकास गरिरहेकै बेला चीनले त्यसलाई डिजिटल ग्याजेटका रूपमा पुनःपरिभाषित गर्यो। टोयोटा, मर्सिडिज–बेन्ज, बीएमडब्लु, फक्सवागेन वा फोर्डजस्ता कम्पनीहरूको दशकौँ पुरानो सोच के थियो भने राम्रो गाडी भन्नाले बलियो इन्जिन, टिकाउ बडी, आरामदायी सस्पेन्सन र उत्कृष्ट ड्राइभिङ अनुभव हो। त्यसैले उनीहरूको प्रतिस्पर्धा पनि मुख्यतः इन्जिनियरिङ र मेकानिकल क्षमतामै केन्द्रित रह्यो।
तर चिनियाँ कम्पनीहरूले प्रतिस्पर्धाको केन्द्र इन्जिनबाट हटाएर सफ्टवेयर र प्रयोगकर्ताको अनुभवमा सारे। ठूलो टचस्क्रिन, कृत्रिम बुद्धिमत्तामा आधारित भ्वाइस सहायक, मोबाइल एपबाट नियन्त्रण, इन्टरनेटमार्फत नयाँ सुविधा थप्ने प्रणाली, डिजिटल ककपिट, कराओके, रेफ्रिजेरेटर, मसाज सिट, सुत्न मिल्ने सिट, क्याम्पिङ मोड र ड्रोन नियन्त्रणसम्मका सुविधा राखेर उनीहरूले गाडीलाई स्मार्टफोनजस्तै बनाइदिए।
चीनमा प्रविधि कम्पनीहरू नै अटो उद्योगमा प्रवेश गर्न थालेका छन्। यसको सबैभन्दा चर्चित उदाहरण शाओमी हो। एक समय केवल स्मार्टफोन निर्माता कम्पनीका रूपमा चिनिएको शाओमीले सन् २०२४ मा आफ्नो पहिलो विद्युतीय कार एसयु७ सार्वजनिक गर्यो। सार्वजनिक भएको छोटो समयमै हजारौं बुकिङ भएपछि धेरै विश्लेषकहरूले यसलाई स्मार्टफोन कम्पनीबाट अटो कम्पनी बनेको सबैभन्दा सफल रूपान्तरणका रूपमा व्याख्या गरे।
शाओमीले गाडी बेच्दा पनि मोबाइलकै रणनीति अपनायो। फोन, ट्याबलेट, स्मार्ट होम उपकरण र गाडीलाई एउटै डिजिटल इकोसिस्टममा जोडियो। प्रयोगकर्ताले मोबाइलबाट गाडी नियन्त्रण गर्न सक्ने, घरका उपकरणसँग गाडी जोड्न सक्ने र एउटै खाताबाट सबै सेवा प्रयोग करना सक्ने व्यवस्था गरियो। यसले गाडीलाई केवल यातायातको साधनभन्दा बढी डिजिटल उपकरणका रूपमा स्थापित गर्यो। बीवाईडी, जीली, नियो, एक्सपेङ्ग र ली अटो जस्ता कम्पनीहरूले हरेक वर्ष नयाँ मोडल सार्वजनिक गरिरहेका छन्। धेरै कम्पनीले एउटै वर्षमा पाँचदेखि दससम्म नयाँ वा परिमार्जित मोडल बजारमा ल्याउने गरेका छन्।
मूल्य र रणनीतिको चक्रव्यूह: चिनियाँ ईभी क्रान्तिको भित्री पाटो
चीनको विद्युतीय गाडी क्रान्तिलाई केवल बीवाईडी वा साओमीको सफलतामा सीमित गरेर हेर्न भने सकिँदैन। यसको पछाडि करिब दुई दशकदेखि तयार गरिएको औद्योगिक रणनीति, सरकारी नीति, ब्याट्री आपूर्ति शृङ्खलामाथिको नियन्त्रण र तीव्र प्रतिस्पर्धात्मक बजारको ठूलो भूमिका छ। यही कारणले अहिले विश्व अटो उद्योग चीनलाई पछ्याउन बाध्य छ।
विश्वका धेरै देशले विद्युतीय गाडीलाई वातावरणीय नीतिको रूपमा अघि बढाए। तर चीनले त्यसलाई औद्योगिक नीति बनायो। सन् २००९ देखि सरकारले विद्युतीय गाडी खरिदमा अनुदान, कर छुट, चार्जिङ पूर्वाधार विस्तार र ब्याट्री उद्योगमा ठूलो लगानी गर्न थाल्यो। त्यसपछि ‘न्यू इनर्जी भेहिकल’ कार्यक्रम र ‘मेड इन चाइना २०२५’ जस्ता नीतिले चीनलाई केवल गाडी उत्पादन गर्ने होइन, सम्पूर्ण आपूर्ति शृङ्खलामा आत्मनिर्भर बनाउने लक्ष्य लिए।
यसको सबैभन्दा ठूलो लाभ ब्याट्री उद्योगमा देखियो। आज विश्वका अग्रणी ब्याट्री उत्पादकमध्ये सीएटीएल, बीवाईडी दुवै चिनियाँ कम्पनी हुन्। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वमा उत्पादन हुने लिथियम–आयन ब्याट्रीको ठूलो हिस्सा चीनमै उत्पादन हुन्छ। ब्याट्री नै विद्युतीय गाडीको सबैभन्दा महँगो भाग भएकाले यस क्षेत्रमा चीनको प्रभुत्वले चिनियाँ कम्पनीलाई लागत घटाउन ठूलो फाइदा पुग्यो।
यही लागतको लाभले अर्को परिवर्तन ल्यायो- मूल्य युद्ध। पहिले विद्युतीय गाडी महँगो उत्पादन मानिन्थ्यो। तर चिनियाँ कम्पनीहरूले एउटै मूल्यमा प्रतिस्पर्धीभन्दा बढी सुविधा दिन थाले। कतिपय अवस्थामा त परम्परागत पेट्रोल गाडीभन्दा पनि सस्तो मूल्यमा विद्युतीय गाडी बजारमा आए। यसको प्रत्यक्ष असर विश्व बजारमा देखियो।
पछिल्ला दुई वर्षमा चीनमा सुरु भएको मूल्य प्रतिस्पर्धाले विश्वका ठूला अटो निर्माता कम्पनीमाथि दबाब बढाएको छ। फलस्वरूप टेस्ला लगायत अन्य प्रतिस्पर्धी ब्राण्डहरू पटक पटक मूल्य घटाउन बाध्य भए। प्रतिस्पर्धा अब केवल ब्रान्डमा होइन, मूल्य र प्रविधिको संयोजनमा केन्द्रित हुन पुग्यो।
चिनियाँ प्रविधि पछ्याउन बाध्य टोयोटादेखि मर्सिडिजसम्मका अटो सम्राट
चीनको सबैभन्दा ठूलो उपलब्धि सस्तो गाडी बेच्नु होइन। उसले उपभोक्ताको सोच बदलिदिएको छ। एक समय गाडी खरिद गर्नु जीवनको ठूलो उपलब्धि मानिन्थ्यो। परिवारले वर्षौं बचत गरेर एउटा गाडी किन्थ्यो र त्यसलाई दशकौंसम्म प्रयोग गर्थ्यो।
अहिले चीनले त्यो संस्कृति तीव्र रूपमा बदलिदिएको छ। नयाँ मोडल, नयाँ सफ्टवेयर, नयाँ कृत्रिम बुद्धिमत्ता प्रणाली, नयाँ डिजाइन र नयाँ डिजिटल सुविधाका कारण धेरै उपभोक्ताले केही वर्षमै गाडी परिवर्तन गर्न थालेका छन्। यो प्रवृत्ति अहिले युरोप, दक्षिणपूर्वी एसिया र मध्यपूर्वका बजारमा पनि विस्तार हुँदै गएको छ।
यसले परम्परागत अटो उद्योगलाई नयाँ प्रश्न सोध्न बाध्य बनाएको छ- भोलिको प्रतिस्पर्धा इन्जिनमा हुनेछ कि सफ्टवेयरमा?
यसको उत्तर धेरै कम्पनीले आफ्नो रणनीतिबाट दिइसकेका छन्। फक्सवागेनले चिनियाँ प्रविधि कम्पनीसँग सहकार्य गरिरहेको छ। टोयोटाले चीनका लागि चिनियाँ ब्याट्री प्रविधि प्रयोग गरिरहेको छ। मर्सिडिज-बेन्ज, बीएमडब्लु र अन्य लक्जरी ब्रान्डहरूले पनि आफ्ना नयाँ मोडलमा ठूलो डिजिटल डिस्प्ले, कृत्रिम बुद्धिमत्ता, ओभर-द–एयर अपडेट र स्मार्ट ककपिटलाई प्राथमिकता दिन थालेका छन्। कुनै समय ‘अतिरिक्त सुविधा’ मानिने यस्ता प्रविधि अहिले प्रतिस्पर्धाका आधार बनेका छन्।
नेपालजस्ता बजारमा पनि यही परिवर्तन स्पष्ट देखिन थालेको छ। केही वर्षअघिसम्म विद्युतीय गाडीको चर्चा मुख्यतः इन्धन बचत र वातावरणीय लाभमा सीमित थियो। अहिले भने उपभोक्ताले रेन्ज, चार्जिङ समय वा मोटर क्षमतासँगै इन्फोटेनमेन्ट प्रणाली, भ्वाइस कमाण्ड, चालक सहायता प्रणाली, डिजिटल ककपिट, कनेक्टिभिटी र सफ्टवेयर अपडेटजस्ता सुविधालाई पनि उत्तिकै महत्त्व दिन थालेका छन्।
यसबीच अर्को रोचक परिवर्तन पनि देखिएको छ। पहिले विश्वका अटो निर्माता कम्पनीहरूले नयाँ मोडल सार्वजनिक गर्न पाँचदेखि सात वर्षसम्म लगाउँथे। अहिले चिनियाँ कम्पनीहरूले एक–दुई वर्षमै नयाँ संस्करण वा परिमार्जित मोडल ल्याइरहेका छन्। यसले अटो उद्योगको उत्पादन चक्र नै छोटिएको छ। उपभोक्ताले पनि अब गाडीलाई लामो समय टिकाइराख्ने सम्पत्तिभन्दा छिटो परिवर्तन हुने प्रविधि उत्पादनका रूपमा हेर्न थालेका छन्।
चीनले गाडीलाई मोबाइल फोनजस्तै निरन्तर अपडेट हुने, नयाँ मोडलमा परिवर्तन गर्न मन लाग्ने, सफ्टवेयरले परिभाषित गर्ने डिजिटल ग्याजेट बनाइदियो। यही परिवर्तनले आज विश्व अटो उद्योगको दिशा निर्धारण गरिरहेको छ, र सम्भवतः आगामी दशक पनि यही परिवर्तनको प्रभावमा अघि बढनेछ।













