१७ श्रावण २०८३, आइतबार

युवा उद्यमी मञ्चको अध्यक्षमा सुगम घिमिरे, नयाँ कार्यसमिति चयन



काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले नयाँ नेतृत्व चयन गरेको छ। शुक्रबार सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट सुगम घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन्।

नवनिर्वाचित कार्यसमितिअनुसार निवर्तमान अध्यक्षमा मनिष श्रेष्ठ रहेका छन्। लर्निङ चेयरमा चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयरमा शाइनी खेतान तथा स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयरमा निदा दून मल्ल चयन भएका छन्।

यस्तै, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्स चेयरमा सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयरमा पुनीत अग्रवाल, स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयरमा यश अग्रवाल तथा फाइनान्स एन्ड इन्टरनेसनल रिलेसन्स चेयरमा अङ्कुर अग्रवाल चयन भएका छन्।

सभाले को–चेयरको जिम्मेवारी पनि टुंगो लगाएको छ। मेम्बरसिप एन्ड इन्टिग्रेसन को–चेयरमा न्यान्सी अग्रवाल, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन को–चेयरमा सचेत मानन्धर तथा गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्स को–चेयरमा चेतन प्रधान चयन भएका छन्।

वार्षिक साधारण सभाले वर्षभरि उल्लेखनीय योगदान दिने सदस्य र प्रादेशिक च्याप्टरहरूलाई पनि सम्मान गरेको छ। मोस्ट एक्टिभ मेम्बर अवार्ड जितेन्द्र बहाती र नेहा अग्रवालले प्राप्त गरेका छन् भने आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्डबाट सुधिज्ञ पन्त सम्मानित भएका छन्।

त्यस्तै, च्याप्टर ग्रोथ अवार्ड सीएनआईवाइईएफ लुम्बिनी च्याप्टरलाई र च्याप्टर एक्सेलेन्स अवार्ड सीएनआईवाइईएफ कोशी च्याप्टरलाई प्रदान गरिएको छ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले सरकारले युवा उद्यमशीलता प्रवर्द्धनका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। उनले सीएनआईवाइईएफसँग सहकार्य गर्दै युवामुखी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

सोही अवसरमा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष बीरेन्द्रराज पाण्डेले देशको आर्थिक समृद्धिमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे।